काठमाडौँ । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’, बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा भव्यताका साथ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यो एक्स्पो सवारीसाधनका सौखिनहरूका लागि मात्र नभई समग्र यातायात क्षेत्रको भविष्यको कार्यदिशा पहिल्याउने महत्त्वपूर्ण मञ्च बनेको छ ।
एक्स्पोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् । पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० भन्दा बढी ब्रान्डका सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् । एक्स्पोको मुख्य आकर्षणको रूपमा विभिन्न कम्पनीहरूले ३५ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दैछन्, जसमा १५ मोडलका चारपाङ्ग्रे, १५ मोडलका दुईपाङ्ग्रे, एउटा तीनपाङ्ग्रे र ४ वटा कमर्सियल गाडी रहेका छन् ।
खरिदकर्ता र अवलोकनकर्ताका लागि अवसरको मेला
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार यो एक्स्पो खरिदकर्ताका लागि नयाँ र उपयुक्त सवारी छनोट गर्ने अवसर मात्र नभएर अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधि, ज्ञान र भविष्यको सम्भावना बुझ्ने महत्त्वपूर्ण थलो पनि हो । उहाँले यातायात क्षेत्रले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ७.३% र रोजगारीमा ४.७% को महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।
ज्ञान र नीतिगत बहसमा केन्द्रित
यो एक्स्पो केवल सवारी प्रदर्शनमा मात्र सीमित छैन । प्रदर्शनीका पाँचै दिन सवारी तथा यातायात क्षेत्रका विभिन्न जल्दाबल्दा विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विशेष छलफल कार्यक्रमहरू आयोजना गरिनेछ । यी सत्रहरूमा यातायात क्षेत्रको वर्तमान अवस्था, आवश्यक नीतिगत सुधार, दक्ष जनशक्ति विकास, र व्यवस्थापन जस्ता विषयमा गहन विमर्श हुने नाइमाले जनाएको छ ।
सामाजिक उत्तरदायित्वमा पनि अग्रसर
नाइमाले यस एक्स्पोलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ । टिकट बिक्रीबाट उठेको रकमको पाँच प्रतिशत शिक्षा मन्त्रालय र सीटीईभीटीको सहकार्यमा मोबिलिटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति तथा फेलोसिप प्रदान गर्न खर्च गरिने अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।
साधारणतर्फ २ सय रुपैयाँ र विद्यार्थीका लागि परिचयपत्रका आधारमा १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । एक्स्पो अवलोकनका लागि आउनेहरूका लागि कार पार्किङ नेपाल पुलिस क्लबमा र मोटरसाइकलका लागि भृकुटीमण्डपभित्रै व्यवस्था मिलाइएको छ । यो बहुप्रतिक्षित एक्स्पो साउन २५ गतेसम्म चल्नेछ ।




