ग्राहकलाई थप सहज र आधुनिक सेवा प्रदान गर्न कृषि विकास बैंकको सातदोबाटो शाखा नयाँ भवनमा सारियो

ललितपुर । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सहज र सुविधायुक्त बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नो सातदोबाटो शाखालाई नयाँ, आधुनिक भवनमा स्थानान्तरण गरेको छ । शाखाले सातदोबाटो चोकस्थित सेल्सबेरी मार्ट रहेको भवनबाट आफ्नो सम्पूर्ण सेवा सुरु गरेको हाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एक कार्यक्रमका बीच नयाँ शाखा कार्यालयको शुभारम्भ गरे ।  कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, मीन राज पोखरेल, बाग्मती प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापा मगर लगायत उच्च पदस्थ अधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

शाखाका प्रबन्धक बलिराम पुर्वेले पुरानो स्थानमा सेवा प्रवाहमा केही असहजता भएकोले ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै नयाँ र फराकिलो स्थानबाट सेवा सुरु गरिएको बताए । उनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेकै ग्राहकहरूलाई थप सहज र सजिलो वातावरणमा उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्नु हो ।’

कृषि विकास बैंक देशकै एक अग्रणी वित्तीय संस्था हो, जसले देशका ७७ वटै जिल्लामा आफ्नो बलियो उपस्थिति जनाएको छ । हाल बैंकले देशभरका २७१ शाखा कार्यालय र १२९ वटा एटीएम सञ्जालमार्फत लाखौँ ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । सातदोबाटो शाखाको यो स्थानान्तरण सोही सेवा विस्तार र सुदृढीकरण अभियानको एक हिस्सा हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री