२५५ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा, चौथो त्रैमासमा ११ करोडभन्दा बढी कमाइ

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म ११ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा यो नाफा २५५.८० प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको नाफा वृद्धि मुख्यतः सञ्चालन आम्दानीमा ३६ प्रतिशतभन्दा बढीको वृद्धि र इम्पेयरमेन्ट चार्ज घटेकै कारण भएको हो। अघिल्लो वर्ष ३० करोड ७९ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु वर्षमा ४१ करोड ९६ लाख रुपैयाँ पुगेको छ। यस्तै, अघिल्लो वर्ष ३ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज घटेर यो वर्ष १ करोड ७७ लाख रुपैयाँमा झरेको छ।

चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ करोड ६४ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। हाल कम्पनीको चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार रुपैयाँ छ भने जगेडा कोषमा २९ करोड ८९ लाख ४० हजार रुपैयाँ रहेको छ।

निक्षेप संकलन १ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ भने कर्जा सापटी २ अर्ब ९१ करोड रुपैयाँ पार गरेको छ। यद्यपि कम्पनीले कुल ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ।

निष्क्रिय कर्जा अनुपात भने अघिल्लो वर्षको ३.९४ प्रतिशतबाट बढेर हाल ४.८० प्रतिशतमा पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ३० रुपैयाँ ९६ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ।

यो वित्तीय प्रगतिको सङ्केत कम्पनीको ब्यापार विस्तार र जोखिम व्यवस्थापन दुवै पक्ष सन्तुलित दिशामा अगाडि बढेको देखिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री