कञ्चनपुरमा १८ वर्षीया सम्झना मृत फेला, हत्याको आशंकामा पति पक्राउ

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ सिंहपालमा १८ वर्षीया सम्झना भट्ट रहस्यमय अवस्थामा मृत फेला परेकी छन् । आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेपछि माइती पक्षले हत्याको दाबी गर्दै किटानी जाहेरी दिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराका अनुसार, प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएकाले गहिरो अनुसन्धान थालिएको हो । ‘मृतकको शरीरमा ठूला बाहिरी चोटहरू नदेखिए पनि नङले कोतरेका जस्ता नीलडाम र घाउचोटहरू छन्,’ डीएसपी बोहोराले भने, ‘यसले घटनालाई आत्महत्या मात्रै मान्न नसकिने आधार दिएको छ ।’

परिवारका सदस्यहरूका अनुसार, सम्झना घरको कोठाभित्रबाट चुक्कुल लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । यद्यपि, माइती पक्षले भने यो कुरा पत्याउन सकेको छैन । उनीहरूले विवाह भएदेखि नै सम्झनामाथि मानसिक तथा शारीरिक यातना हुँदै आएको र अन्ततः उनको हत्या गरिएको आरोप लगाएका छन् । ‘छोरीलाई विवाहपछि श्रीमानले निरन्तर दुःख दिँदै आएका थिए,’ माइती पक्षको आरोप छ, ‘यो आत्महत्या होइन, योजनाबद्ध हत्या हो ।’

सम्झना र पवनबीच गत फागुनमा मात्रै प्रेम विवाह भएको थियो । विवाहको छोटो समयमै यस्तो दुखद घटना घटेपछि स्थानीय स्तरमा समेत शोक छाएको छ । कक्षा १२ मा अध्ययनरत सम्झना एक मेधावी छात्रा थिइन् । 

प्रहरीले घटनाको बहुआयामिक अनुसन्धानका लागि मृतकका पति पवनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ भने माइती पक्षलाई पनि प्रहरी कार्यालयमा बोलाएर बयान लिने कार्य भइरहेको डीएसपी बोहोराले जानकारी दिए । सम्झनाको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री