बाग्मतीमा सत्ता फेरबदल : मुख्यमन्त्रीमा कांग्रेस-एमाले गठबन्धनबाट बानियाँले दाबी पेश गर्ने

काठमाडौं । बाग्मती प्रदेश सरकारको नेतृत्व परिवर्तन निश्चित भएको छ । आइतबार पदत्यागको घोषणा गरेका मुख्यमन्त्री बहादुरसिंह लामाले आज आफ्नो राजीनामा पत्र प्रदेश प्रमुख समक्ष पेश गर्दैछन् । यससँगै नेपाली कांग्रेस र नेकपा (एमाले) को नयाँ गठबन्धनबाट इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

आइतबार साँझ पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका मुख्यमन्त्री लामा भने काठमाडौं प्रस्थान गरेका छन् । उनले आफ्नो राजीनामा पत्र प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराउने जिम्मेवारी दिएका छन् । प्रदेश प्रमुख कार्यालय खुल्ने बित्तिकै राजीनामा पत्र दर्ता गरिने स्वकीय सचिव लामाले जानकारी दिए । अस्पतालबाट आइतबार साँझ मात्र डिस्चार्ज भएका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आज हेटौंडा आइपुग्ने कार्यक्रम छ ।

मुख्यमन्त्री लामाको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । प्रदेश प्रमुखको आह्वानलगत्तै कांग्रेस-एमाले गठबन्धनले कांग्रेस संसदीय दलका नेतासमेत रहेका बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्ने पूर्ण तयारी गरेको छ ।

नयाँ गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत सुरक्षित गरिसकेकाले बानियाँ बाग्मती प्रदेशको आगामी मुख्यमन्त्री बन्ने लगभग निश्चित छ । यो राजीनामासँगै बाग्मतीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको पुरानो गठबन्धनको सरकार ढलेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री