काठमाडौं । नेपाल निर्जीवन बिमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बिमा क्षेत्रको रूपान्तरणका लागि प्रविधिमैत्री सुधार र सरकार-निजी क्षेत्रबीचको बलियो सहकार्य ‘अपरिहार्य’ रहेको बताएका छन् ।
प्रभु इन्स्योरेन्सको ३०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमा सेवालाई विश्वसनीय र सर्वसुलभ बनाउन नीतिगत सुधारसँगै डिजिटल प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।
“अबको बिमा प्रविधिसँग जोडिनैपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुवैमा उल्लेख्य सुधार ल्याउँछ,” अध्यक्ष मल्लले भने । उनले नेपालको बिमा क्षेत्र क्रमशः सुदृढ बन्दै गएको र यसलाई पूर्ण प्रविधिमैत्री बनाउन सके वित्तीय पारदर्शितालगायतका धेरै पक्षमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
प्रभु इन्स्योरेन्सद्वारा १८% बोनसको घोषणा
कार्यक्रममा प्रभु इन्स्योरेन्सका अध्यक्षसमेत रहेका मल्लले कम्पनीका सेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ मा १८ प्रतिशत बोनस दिने घोषणा गर्दै लगानीकर्ताको विश्वासलाई सम्मान गरिने बताए । उनले बिमाको आधारभूत मर्म भनेकै जोखिमको समयमा नागरिकलाई आडभरोसा दिनु रहेको उल्लेख गरे ।
“बिमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने पवित्र क्षेत्र हो । हामीले जनतालाई यो विश्वास दिलाउनु सबैभन्दा जरुरी छ,” उनले भने । यही विश्वासलाई बलियो बनाउन प्रभु इन्स्योरेन्सले आगामी दिनमा दाबी भुक्तानी प्रक्रियालाई अझै छिटो, छरितो र विश्वसनीय बनाउने प्रतिबद्धता जनाए ।
अन्त्यमा, उनले बिमा क्षेत्रको समग्र विकास र स्थायित्वका लागि नियामक निकाय, सरकार र निजी क्षेत्रका कम्पनीहरू ‘एउटै सिक्काका दुई पाटा’ जस्तै भएर अघि बढ्नुपर्ने आवश्यकतामा पुनः जोड दिए ।




