काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न थप ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै ४२ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको जानकारी दिएको हो।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनको तुलनामा कर्जा लगानी सुस्त हुँदा तरलता थुप्रिएको छ। आर्थिक गतिविधि चलायमान हुन नसक्दा कर्जाको माग बढ्न सकेको छैन, जसले गर्दा बैंकहरुसँग लगानीयोग्य रकम निष्क्रिय बसेको छ। यही अधिक तरलताका कारण अन्तरबैंक ब्याजदरमा समेत दबाब परिरहेको छ। यस्तो अवस्थामा बजारमा अनावश्यक मूल्यवृद्धि हुन नदिन र वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंकले नियमित रुपमा बजारबाट पैसा तान्दै आएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, बोलकबोल प्रक्रिया बुधबार दिउँसो ३ बजे सञ्चालन हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी हुन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष हुने गरी कुल आह्वान रकमसम्मको प्रस्ताव पेश गर्न सक्नेछन्।
यो निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी आगामी भदौ २९ गते हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले यसरी राष्ट्र बैंकमा राखेको रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन्।
पछिल्ला केही महिनादेखि राष्ट्र बैंकले निरन्तर रुपमा विभिन्न अवधिका निक्षेप संकलन उपकरणहरु प्रयोग गरी बजारबाट तरलता प्रशोचन गरिरहेको छ। यसअघि पनि पटक-पटक गरी अर्बौं रुपैयाँ बजारबाट खिचिएको थियो । तरलता व्यवस्थापन गर्नु केन्द्रीय बैंकको नियमित कार्य अन्तर्गत पर्दछ र यसले समग्र आर्थिक स्थायित्वमा मद्दत पुर्याउने अपेक्षा गरिन्छ ।




