उद्योग र शिक्षाबीच सहकार्यको नयाँ अध्याय: सीपयुक्त जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रको हातेमालो

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रले सामना गरिरहेको दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघ (CNI) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच उत्पादनमूलक अर्थतन्त्र र उद्योगका लागि आवश्यक सीपयुक्त जनशक्ति निर्माणमा एकसाथ अघि बढ्ने समझदारी भएको हो ।

परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गरी मुलुकको शैक्षिक प्रणालीलाई उद्योग र उत्पादनसँग जोड्ने विषयमा विस्तृत छलफल गरेका हुन् । सो अवसरमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगहरूले माग गरेअनुसारको सीपयुक्त जनशक्ति नेपालभित्रै उत्पादन गर्न नसक्दा औद्योगिक विकासले गति लिन नसकेको यथार्थ औंल्याए । उनले भने, “परिसंघ उद्योगसँग शिक्षा र सीपलाई जोड्न चाहन्छ । यही उद्देश्य पूर्तिका लागि हामीले नीतिगत सुझाव दिन र ठोस् गतिविधि सञ्चालन गर्न परिसंघमा ‘शिक्षा तथा सीप समिति’ नै गठन गरेका छौं ।”

अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने रणनीतिक लक्ष्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरूसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी समेत मन्त्री पन्तलाई गराए । यी समझदारीहरूले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक अभ्याससँग जोड्दै विद्यार्थीहरूलाई उद्योगका लागि तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास परिसंघले लिएको छ ।

छलफलमा मन्त्री पन्तले सरकार उत्पादनसँग तालमेल हुने गरी शैक्षिक नीति र कार्यक्रमहरू परिमार्जन गर्न प्रतिबद्ध रहेको बताए । उनले सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “शिक्षा क्षेत्रको विकास र यसलाई उत्पादनसँग जोड्ने अभियानमा निजी क्षेत्रको सहभागिता अनिवार्य छ । सरकार निजी क्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्न तयार छ ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री