काठमाडौँ । विदेशिने युवाको बढ्दो लहरलाई रोकेर स्वदेशमै उद्यमशीलताको जग बसाल्न हिमानी कोषले एक महत्त्वाकांक्षी अभियानको थालनी गर्ने भएको छ । इन्टरनेशनल क्लबसँगको सहकार्यमा कोषले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ (Brain Drain to Brain Gain) नामक कार्यक्रम सुरु गर्न लागेको हो, जसको मुख्य लक्ष्य युवालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नु रहेको छ ।
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आउँदो शनिबार, साउन १७ गते, सानेपास्थित इन्टरनेशनल क्लबमा आयोजना हुने यो कार्यक्रमले विदेशबाट फर्किएका वा स्वदेशमै केही नवीन गर्न चाहने युवाहरूलाई लक्षित गरेको छ । कोषकी सदस्य–सचिव शुभेच्छा शाहका अनुसार, कार्यक्रमको उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गराउँदै युवाहरूलाई आवश्यक सल्लाह, सुझाव र अवसरको मञ्च प्रदान गर्नु हो ।
यस कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण र ठोस पक्ष भनेको नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो–सिडिङ रिभल्भिङ फन्ड’ (लघु–बीज घुम्ती कोष) को स्थापना गर्नु हो । कोषले यस घुम्ती कोषमार्फत छानिएका युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक बीउ पुँजी उपलब्ध गराउनेछ, जसले गर्दा पुँजीको अभावमा सपना तुहाउनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी(व्यवसायीहरूले आफ्ना अनुभव साट्नेछन् भने सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टल र मनोरञ्जनात्मक पनि रहनेछन् । कार्यक्रमलाई थप गरिमामय बनाउन पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको समेत उपस्थिति रहने कोषले जनाएको छ ।




