काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आजदेखि १०० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ। असार ३१ गतेदेखि साउन १९ गतेसम्म कम्पनीले कुल ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य रु. ५३ करोड ५८ लाख हुनेछ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु. ५३ करोड ५८ लाख बराबरको एक बराबर एक (१:१) अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी दोब्बर भई १ अर्ब ७ करोड पुग्नेछ।
बरुण हाइड्रोपावरले यो हकप्रद शेयर जारी गर्नका लागि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ। यस प्रक्रिया अन्तर्गत योग्य शेयरधनीहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले जेठ २२ गते बुक क्लोज गरी हकप्रद शेयरका लागि योग्य शेयरधनीहरूको नाम दर्ता गरेको थियो। त्यसैले, जेठ २१ गतेसम्म बरुण हाइड्रोपावरको शेयर धारण गरेका लगानीकर्ताहरूले मात्रै यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
बरुण हाइड्रोपावरले हकप्रद शेयरमार्फत संकलन हुने रकमलाई उत्पादन क्षमता विस्तार, परियोजना सुधार तथा वित्तीय स्थायित्व मजबुत बनाउन प्रयोग गर्ने जनाएको छ। हाल कम्पनीको सञ्चालनमा रहेको आयोजनाबाट उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत आपूर्ति हुँदै आएको छ।
सञ्चालक समितिले लगानीकर्ताहरूको विश्वास बढाउने र वित्तीय आधार सुदृढ बनाउने उद्देश्यले हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाएको जनाएको छ। लगानीकर्ताहरूले मेरो शेयरमार्फत आवेदन दिन सक्ने छन्।




