भैरहवाको रमादा होटलमा रास्वपा संसदीय दलको बैठक

काठमाडौं । सभापति रवि लामिछाने हिरासतमा रहेको बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ । बैठकका लागि रास्वपाका सांसद तथा नेताहरु भैरहवामा जमघट भएका छन् । बैठक दिउँसो १ बजेपछि भैरहवाको रमादा होटलमा बस्नेगरी बोलाइएको हो ।

पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी तथा प्रवक्ता मनिष झासहित १९ मध्ये अधिकांश सांसद मंगलबार साँझ नै भैरहवा आइपुगेका छन् । बाँकी सांसदहरू आज आइपुग्ने कार्यक्रम छ । बैठकअघि सांसदहरूको टोलीले जिल्ला कारागार, भैरहवामा रहेका सभापति लामिछानेलाई भेट्ने कार्यक्रम छ ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरणजस्ता पार्टीले संसदमा जोडदार रूपमा उठाएका मुद्दाहरू र त्यसमा सरकारको भूमिकाबारे गम्भीर समीक्षा हुनेछ । ‘सरकारले विपक्षीको मागलाई बेवास्ता गर्दै संख्याको बलमा जबरजस्ती संसद चलाएको छ,’ परियारले भने, ‘संसदमा प्रस्तुत विभिन्न विधेयक र भ्रष्टाचारका मुद्दामा पार्टीले लिएको अडानको समीक्षा गरी आगामी रणनीति तय गर्नु बैठकको मुख्य एजेन्डा हो ।’

संसदीय दलको बैठक सकिएलगत्तै सांसदहरू रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी मैदानमा होमिनेछन् । उनीहरू पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुनेछन् र उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनी प्रत्यक्ष रूपमा उनीहरूको मनोभावना बुझ्ने प्रयास गर्नेछन् । यो क्षेत्रमा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री