काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-११ हर्कपुरस्थित जिल्लाकै सबैभन्दा सुविधासम्पन्न र अत्याधुनिक मानिने बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । आगलागीबाट रिसोर्टको मुख्य हल तथा रिसेप्सन पूर्ण रुपमा जलेर नष्ट हुँदा करोडौंको क्षति भएको अनुमान गरिएको छ ।
बिहान करिब १० बजेतिर रिसोर्टको काठैकाठले बनेको मुख्य हलबाट आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रिसोर्टका म्यानेजर निरज गौतमका अनुसार, विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । ‘काठको संरचना धेरै भएकोले आगो चाँडै फैलिएको हो,’ गौतमले भने, ‘हामीले तत्कालै दमकल बोलाएर आगो निभाउने प्रयास थालेका थियौं ।’
आगलागीको खबर पाएलगत्तै कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट आएका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । यद्यपि, आगलागीबाट करिब ५०० जना अट्ने क्षमताको मुख्य हल र रिसेप्सन जलेर खरानी भएको छ । क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
रिसोर्ट विदेशबाट फर्किएका युवा उद्यमी सन्तोष धितालले करिब ९ वर्ष लगाएर निर्माण गरेका थिए । ‘र्याम्ड अर्थ’ नामक नवीनतम प्रविधि प्रयोग गरी बनाइएको यो रिसोर्ट डेढ वर्षअघि मात्र सञ्चालनमा आएको थियो ।टायल वा मार्बलको प्रयोग नगरी, प्राकृतिक सामग्री र विशेषगरी काठको कलात्मक प्रयोग गरेर बनाइएका भिल्ला, काइट हाउस र कार्ट हाउसहरु यस रिसोर्टका मुख्य आकर्षण थिए ।
रिसोर्टको मौलिक डिजाइन र प्राकृतिक सुन्दरताले छोटो समयमै यसले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्न सफल भएको थियो । आगलागीको कारण र क्षतिको पूर्ण विवरणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




