काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भनिएका दलहरूको ‘दलाल पुँजीवादी’ चरित्रका कारण सहकारी र सामाजिक संस्थाहरूमा भ्रष्टाचार र बेथिति मौलाएको गम्भीर आरोप लगाएका छन् । उनले आफ्ना नेता-कार्यकर्तालाई जहाँ नेतृत्व लिएको हो, त्यहाँ उत्कृष्टता, मौलिकता र जनसेवाको भावना देखाएर जनताको मन जित्न कडा निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्र को समाज कल्याण विभागले आज काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी कार्यकर्ताको भूमिका केवल राजनीतिक नारामा सीमित नभई सामाजिक रुपान्तरणको व्यावहारिक अभ्यासमा देखिनुपर्नेमा जोड दिए । ‘नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा भाषणले होइन, हाम्रा कार्यकर्ताले नेतृत्व गरेका सहकारी, स्कुल वा सामाजिक संस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्ने कुराले निर्धारण गर्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले माओवादी नेता-कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि आफ्नो पहिचान खुलाउन नचाहने वा खुम्चिने प्रवृत्तिको कडा आलोचना गरे । उनले भने, ‘जहाँ-जहाँ हाम्रा साथीहरू हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्यो । जनताले माओवादीले नेतृत्व गरेपछि फरक हुँदोरहेछ भन्ने महसुस गर्नेगरी काम गर्नुहोस् । हाम्रो पहिचान लुकाउने होइन, गर्वका साथ स्थापित गर्ने हो ।’
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको विकराल समस्यातर्फ संकेत गर्दै उनले परम्परावादी दलहरूको संलग्नतामा मौलाएको बेथितिप्रति आक्रामक टिप्पणी गरे । ‘अहिले सहकारीमा निकै ठूलो स्केलमा भ्रष्टाचार र बेथिति भयो भन्ने कुरा गम्भीर रूपमा उठेको छ । जसलाई हामी संसदवादी दलाल पुँजीवादी शक्ति भन्छौं, उनीहरूले चलाएका संस्थामा उनीहरूकै प्रवृत्ति हाबी भयो,” प्रचण्डले भने, “हामीले नेतृत्व गर्ने संस्था फरक हुनुपर्छ । माओवादीको विचार र त्यागको मर्म त्यहाँ देखिनुपर्छ ।’
उनले पार्टीको त्याग र बलिदानको जगका कारण व्यवस्थित योजना नहुँदा समेत माओवादीले नेतृत्व गरेका स्थानीय तहहरू तुलनात्मक रूपमा अगाडि रहेको दाबी गरे । ‘इतिहासको जग बलियो भएरै यो सम्भव भएको हो । अब यसलाई अझ व्यवस्थित र योजनाबद्ध बनाउँदा धेरै राम्रो गर्न सकिन्छ,’ उनले भने, ‘हामीले जहाँ नेतृत्व गरेका छौं, त्यहाँबाट जनता र राष्ट्रको हितमा काम गरेर ‘माओवादीले राम्रो गर्छन्’ भन्ने विश्वास स्थापित गर्न जरुरी छ ।’




