काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ । बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको एफपीओ आज बिहान बैंकको केन्द्रीय कार्यालय, कमलादीमा बाँडफाँड भएको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। उक्त शेयरमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गर्दा कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् भने ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।
एफपीओको नतिजा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल र मेरोशेयर एकाउन्टबाट हेर्न सकिने छ । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।




