अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी, तीन ठूला भ्रष्टाचार काण्डमा छानबिनको माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि नै अनुसन्धान हुनुपर्ने माग राख्दै आयोगमा उजुरी दर्ता भएको छ । अभियन्ता युवराज पौडेल (सफल) ले वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख आयुक्त राईको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै छानबिन तथा कारबाहीको मागसहित आइतबार उजुरी दिएका हुन् ।

पौडेलले आफ्नो उजुरीमा राईमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई पदबाट निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

उजुरीका मुख्य आधारहरू:

  • वाइडबडी विमान खरिद प्रकरण: हालै विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको फैसलाको पूर्णपाठमा प्रमुख आयुक्त राईमाथि नै प्रश्न उठाएको विषयलाई उजुरीको मुख्य आधार बनाइएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको हैसियतमा राईले वाइडबडी खरिद प्रक्रिया अघि बढाउने निर्णयमा संलग्न रहेको र पछि आफैँ अख्तियार प्रमुख भएपछि सोही प्रकरणको अनुसन्धानलाई प्रभावित पारेको आरोप छ । विशेष अदालतले केही व्यक्तिलाई मात्र ‘चयनमुखी’ अभियोजन गरेको भन्दै आपत्ति जनाएको थियो, जसले समान न्यायको सिद्धान्तको उल्लंघन गरेको उजुरीमा उल्लेख छ ।

  • नेपाल आयल निगम जग्गा खरिद: राई आपूर्ति सचिव हुँदा नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमिततामा पनि उनको संलग्नता रहेको दाबी गरिएको छ । निगम सञ्चालक समितिको अध्यक्ष रहेका राईले जग्गा खरिदको निर्णय प्रक्रियामा भूमिका खेलेको तर पछि कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र मुद्दा चलाइएको र आफूमाथि कुनै अनुसन्धान नभएको पौडेलको जिकिर छ ।

  • नक्कली भुटानी शरणार्थी प्रकरण: देशलाई नै तरंगित बनाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि प्रमुख आयुक्त राईको नाम जोडिएको थियो । उनी गृहसचिव भएका बेलाको यस प्रकरणमा केही अभियुक्तले उनलाई घुस दिएको बयान दिएको समाचार सार्वजनिक भएको थियो । यस प्रकरणमा पनि उनीमाथि गहिरो अनुसन्धान हुनुपर्ने माग उजुरीमा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री