राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले हालको न्यून ब्याजदर लगानीका लागि सबैभन्दा उपयुक्त अवसर भएको बताएकी छिन् । तर, विज्ञहरूले यो अवसरको सदुपयोग गर्दै भविष्यको बैंकिङलाई सुरक्षित र सुदृढ बनाउन तत्काल संरचनात्मक सुधार, सुशासन र डिजिटल प्रविधिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक संवादमा डेपुटी गभर्नर ढुंगानाले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताउँदै लगानीकर्ताका लागि यो स्वर्णिम समय भएको उल्लेख गरिन् । डेपुटी गभर्नर ढुंगानाले भनिन्, ‘अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।  ब्याजदर पनि न्यून छ । यो समय लगानीका लागि उपयुक्त हो ।’

उनले बजेटले तय गरेका प्राथमिकतालाई आधार मानेर राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको बताउँदै यसबाट लाभ लिन सरोकारवालालाई सुझाव दिइन् । राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालीन भए पनि दिगो बैंकिङको दिशामा केन्द्रीय बैंक सधैं गम्भीर रहेको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा बोल्दै अर्थशास्त्री एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भविष्यको बैंकिङबारे विमर्श गर्दा पाँचवटा मुख्य विषयमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार, संस्थागत सुशासन, कर्पोरेट संस्कार, ग्राहकमुखी योजना (स्किम), प्रविधि र बैंकिङ क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने रणनीतिको विकास अपरिहार्य छ ।

बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा रहेकाले संरचनात्मक सुधार र नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले नेपालको बैंकिङ क्षेत्रमा ठूलो प्राविधिक रुपान्तरण भइरहेको स्वीकार गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री