ओलीलाई ‘मार्गप्रशस्त गर्न’ भनेपछि युवा संघका प्रदेश अध्यक्ष खरेल निलम्बित

काठमाडौं । नेकपा (एमाले) भित्रको शक्ति संघर्षको प्रभाव पार्टीको युवा संगठनमा पनि देखिन थालेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संगठनले एक वर्षका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेपछि खरेल कारबाहीमा परेका हुन् ।

संघका महासचिव रमेश चौलागाईंद्वारा जारी विज्ञप्तिअनुसार, साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो । रुपन्देहीको देवदह निवासी खरेलमाथि संगठनको विधानविपरीत गतिविधि गरेको, अराजक व्यवहार देखाएको र केन्द्रीय निर्देशनको अवज्ञा गरेको जस्ता गम्भीर आरोप लगाइएको छ ।

संघले खरेलमाथि पोखरामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउँदै मानहानि गरेको आरोप लगाएको छ । यी आरोपबारे स्पष्टीकरण सोधिएकोमा भौतिक रूपमा उपस्थित नभई पठाएको जवाफ ‘गैरजिम्मेवार र अराजक’ भएको ठहर संघको छ ।

यता, खरेलले आफूमाथिको कारबाहीलाई अन्यायपूर्ण र पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन् । उनले इमेलमार्फत पठाएको तीन पृष्ठ लामो स्पष्टीकरणमा आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका थिए । ‘पार्टीलाई बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु अपराध होइन । म अधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ, मलाई हटाउने अधिकार अर्को अधिवेशनलाई मात्र छ,’ खरेलले भने, ‘यो अन्यायपूर्ण निर्णयको प्रतिवाद गर्छु । संघमै क्रियाशील रहेर गतिविधि अगाडि बढाउँछु, आवश्यक परे समानान्तर कमिटी पनि बन्न सक्छ ।’

देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा समेत रहेका सुरजले केही हप्ताअघि सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए । उनले ओलीको तस्बिरसहित लेखेका थिए, ‘पार्टीको माया छ र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ । अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री