ज्योति विकास बैंक १८औं वर्षमा प्रवेश: एआई च्याटबट र क्यूआर नगद झिक्ने नयाँ सुविधा

  • सामाजिक कार्यमा चार ठूला परियोजना

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सव मनाउँदै ग्राहक लक्षित नवीनतम डिजिटल सेवा र बृहत् सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सार्वजनिक गरेको छ । शुक्रबार आफ्नो स्थापनाको १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले अत्याधुनिक एआई च्याटबट र अन्तरबैंक नगद झिक्ने क्यूआर सुविधा सुरु गरेको हो ।

२०६५ साल साउन ९ गते स्थापना भएको बैंकले आफ्नो प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा नयाँ सेवाहरूको घोषणा गरेको हो । बैंकले २४ सै घण्टा सेवा दिने उद्देश्यले “ज्योति” नामक एआई च्याटबट सार्वजनिक गरेको छ, जसले ग्राहकहरूलाई बैंकिङ जानकारी लिन र जिज्ञासा मेटाउन तत्काल सहयोग गर्नेछ । यसैगरी, बैंकले सुरु गरेको ‘इन्टरबैंक टेलर क्यूआर’ सेवामार्फत अब जुनसुकै बैंकको मोबाइल बैंकिङ वा खल्ती वालेट प्रयोगकर्ताले ज्योति विकास बैंकको काउन्टरबाट सहजै नगद झिक्न सक्नेछन् । यो सुविधाले एटिएम वा सम्बन्धित बैंकको शाखा नजिक नहुने ग्राहकलाई विशेष राहत दिने विश्वास गरिएको छ ।

आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवामा समर्पित गर्दै बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत चारवटा महत्त्वपूर्ण परियोजनाको घोषणा गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा निःशुल्क आँखा शिविर तथा मोतिविन्दुको शल्यक्रिया, राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा दुर्गमका स्वास्थ्य संस्थालाई १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण हस्तान्तरण, र ई-नेबल नेपालसँग मिलेर १७ जना अपाङ्गता भएका बालबालिकालाई थ्रीडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गर्ने बैंकले जनाएको छ । साथै, वातावरणीय संरक्षणका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग मिलेर सातै प्रदेशमा १,७०० विरुवा रोप्ने घोषणा गरिएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले १७ वर्षको यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै बैंक सामाजिक समृद्धि र नवीनतम सेवामा निरन्तर क्रियाशील रहने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापकहरूको परिकल्पनालाई साकार पार्दै बैंक आफ्नो उद्देश्य प्राप्तिमा थप सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय आविष्कार केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान, ई-नेबल नेपाल र लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधिहरूले बैंकको सामाजिक सहकार्यको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

वार्षिकोत्सवका अवसरमा बैंकले कर्मचारीहरूको प्रतिभा प्रोत्साहनका लागि “ज्योति’ज गट ट्यालेन्ट”, रक्तदान कार्यक्रम, र कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरू पनि आयोजना गरेको थियो । सोही अवसरमा बैंकले आफ्नो नयाँ ‘कर्पोरेट एन्थम’ समेत सार्वजनिक गर्नुका साथै १० र १५ वर्षदेखि सेवारत कर्मचारीहरूलाई सम्मान गरेको थियो । हाल बैंकले देशभर १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री