काठमाडौं । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५१औं जन्मजयन्तीको अवसरमा वरिष्ठ अर्थविद् तथा कूटनीतिज्ञ डा. भेषबहादुर थापा ‘भीमसेन थापा राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका छन् । एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. थापालाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा राष्ट्रपति पौडेलले डा. थापालाई १ लाख १ हजार १ सय एघार रुपैयाँ नगद राशि र ताम्रपत्रसहितको सम्मान गरे ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा भीमसेन थापा एक अविस्मरणीय व्यक्तित्व भएको चर्चा गरेका थिए । उनले थापाको दूरदर्शिता, प्रशासनिक कौशल र राष्ट्रभक्तिको स्मरण गर्दै त्यस्ता विभूतिको नाममा स्थापित पुरस्कारबाट सही व्यक्तित्व सम्मानित भएकोमा खुशी व्यक्त गरे ।
पुरस्कार ग्रहणपछि सम्मानित व्यक्तित्व डा। भेषबहादुर थापाले राष्ट्रिय विभूतिका नाममा स्थापित प्रतिष्ठित पुरस्कार प्राप्त गर्दा आफू गौरवान्वित भएको बताए । उनले भीमसेन थापाले आधुनिक नेपाल निर्माणमा पुऱ्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
कार्यक्रममा डा. रामप्रसाद दाहालले सम्मानित व्यक्तित्व डा. थापाको जीवनी, व्यक्तित्व र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुऱ्याउनुभएको योगदानबारे प्रकाश पारेका थिए । उनले सम्मानपत्र वाचन गर्नुका साथै कार्यक्रमलाई सञ्चालन गर्नुभएको थिए ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रा. डा. मोहन लोहनीले स्वागत मन्तव्य दिएका थिए भने प्रतिष्ठानका सदस्य सचिव लक्ष्मण थापाले संस्थाको गतिविधिबारे जानकारी गराएका थिए । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सहप्राध्यापक सुशीलविक्रम थापाले प्रतिष्ठानद्वारा प्रकाशित ‘ऐतिहासिक अभिलेख संग्रह’ नामक महत्त्वपूर्ण कृति राष्ट्रपति पौडेललाई अर्पण गर्दै प्रकाशनको महत्त्वमाथि प्रकाश पारे ।




