प्रविधि र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले ‘जेन-जी’ पुस्तामा मानसिक स्वास्थ्य समस्या बढेकोमा चिन्ता

  • काठमाडौँमा जीवनशैली रूपान्तरण र स्वास्थ्यबारे गहन विमर्श

काठमाडौँ । पछिल्लो समय प्रविधिको अनियन्त्रित प्रयोग र बदलिँदो जीवनशैलीका कारण विशेषगरी युवा पुस्तामा मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू बढिरहेको परिप्रेक्ष्यमा काठमाडौँमा एक महत्त्वपूर्ण विचार गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घले संयुक्त रूपमा “हाम्रो जीवनशैलीको रूपान्तरण: स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयमा आयोजना गरेको उक्त कार्यक्रममा विज्ञहरूले स्वस्थ जीवनशैलीका लागि तत्काल सचेतना अभियान थाल्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य मानव विकासको एक महत्त्वपूर्ण सूचक भए तापनि यसप्रति गम्भीर खेलवाड भइरहेको बताए। उनले भने, “अहिले अनियन्त्रित सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले ‘जेन-जी’ पुस्ता मानसिक रूपले अस्वस्थ हुँदै गएकोमा चिन्ता र चासो बढेको छ। यस्तो अस्वस्थ जीवनशैलीलाई स्वस्थ बनाउन नियामक निकायहरूले सक्रियतापूर्वक सचेतना फैलाउँदै प्रभावकारी नियन्त्रण गर्नु अपरिहार्य छ।”

गोष्ठीमा विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै स्वस्थ जीवनका विविध पक्षबारे प्रकाश पारेका थिए। डा. चिन्तामणि गौतमले “योग र सजग जीवनयापनमार्फत आफ्नो स्वास्थ्यलाई सशक्त बनाउनुहोस्” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै मानसिक र शारीरिक स्वास्थ्यका लागि योग र ध्यानको महत्त्वबारे प्रस्ट्या ए।

त्यसैगरी, डा. कल्पना तिवारीले “स्वस्थ जीवनका लागि स्वस्थकर खाना” विषयक कार्यपत्रमार्फत सन्तुलित आहार र पोषणको भूमिकामाथि जोड दिइन्। इन्जिनियर करुणा अमात्यले “हाम्रो जीवनशैली रूपान्तरणका लागि तनाव व्यवस्थापन” विषयमा प्रस्तुति दिँदै आधुनिक जीवनको प्रमुख चुनौतीका रूपमा रहेको तनावलाई व्यवस्थापन गर्ने व्यावहारिक उपायहरू सुझाइन्।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल विद्यावारिधि सङ्घका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। कार्यपत्र प्रस्तुतिपछि सहभागीहरूबीच गहन विमर्शसमेत भएको थियो, जहाँ बदलिँदो जीवनशैलीका चुनौती र समाधानका उपायहरूबारे छलफल केन्द्रित थियो।

कार्यक्रममा डा. माला कुँवर खरेलले धन्यवाद ज्ञापन गरिन् भने सङ्घका महासचिव डा. सुन्दरी पोखरेलले कार्यक्रमको उद्घोषण गरिन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप