पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउनु उहाँकै अपमान हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्काउने प्रयास स्वयं राष्ट्रपति पदको गरिमा र उनको सम्मानप्रतिको अपमान हुने बताएका छन् । मंगलबार राति सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले राष्ट्रको साझा गौरवको रूपमा स्थापित भइसकेको व्यक्तित्वलाई दलगत राजनीतिमा ल्याउनु अनुपयुक्त हुने तर्क गरेका हुन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भने, ‘पूर्वराष्ट्रपति भण्डारी हाम्रो गौरवको नाम हो । उहाँले आफूलाई एक देशभक्त, दृढ अडान भएको र अब्बल कार्यसम्पादन क्षमतायुक्त राष्ट्रपतिको रूपमा स्थापित गर्नुभएको छ । राष्ट्राध्यक्ष जस्तो उचाइमा पुगिसकेको व्यक्तित्वलाई तल पार्टीमा ल्याएर काम लगाउनु उहाँको सम्मानप्रति नै अपमान हुन सक्छ ।’

बैठकले पार्टी नेतृत्वमा रहेको ७० वर्षे उमेर हदको प्रावधानलाई भने हटाउने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गौतमले उक्त प्रावधान कायम रहँदा वर्तमान अध्यक्ष ओलीलाई ११औँ महाधिवेशनमा अध्यक्ष बन्नबाट रोक्ने भएकाले त्यसलाई हटाइएको स्पष्ट पारेका छन् ।

उनले पार्टीका अन्य वरिष्ठ नेताहरूलाई प्रतिस्पर्धामा कुनै रोक नलगाइएको भए पनि केन्द्रीय कमिटीले पुनः अध्यक्षमा ओलीलाई नै अघि सार्न चाहेको संकेत गरे । बैठकले विधान अधिवेशनको तयारी लगायतका अन्य सांगठनिक विषयमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री