काठमाडौं । धारिलो हतियार खुँडा प्रदर्शन गरी स्थानीयवासीलाई आतंकित बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आबद्ध एक नेतालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, तनहुँले भानु नगरपालिका-१३, चन्द्रावतीका स्थायी निवासी प्रकाश लौडारीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार, लौडारीले मदिरा सेवन गरी स्थानीय दुई जनालाई घरमै पुगेर ज्यान मार्ने धम्की दिएका थिए । उनले भानु नगरपालिका-१२ का बलराम अधिकारी र भानु-१३ का अशोक अधिकारीलाई खुँडा देखाउँदै आक्रमणको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ ।
पीडितद्वयले आक्रमणको प्रयास थाहा पाएपछि घरको ढोका लगाएर बसेका कारण सुरक्षित रहेको बताइएको छ । सो क्रममा लौडारीले होहल्ला गर्दै घरको ढोकामा खुँडा प्रहार गरेका थिए । स्थानीयले गुहार मागेपछि प्रहरीलाई खबर गरिएको थियो, तर प्रहरी पुग्नुअघि नै लौडारी घटनास्थलबाट फरार भएका थिए ।
हाल काठमाडौंमा बस्दै आएका लौडारी रास्वपाका अध्यक्ष रवि लामिछानेको पक्राउको विरोधमा हस्ताक्षर संकलन गर्ने उद्देश्यले आफ्नो जन्मगाउँ पुगेको खुलेको छ ।
फरार भएका लौडारीलाई इलाका प्रहरी कार्यालय, भानुले भानु नगरपालिका-२, नारेश्वरटारबाट नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका लौडारीलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।




