विपीकै जगमा खडा छ आजको राजनीति : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीति विश्वेश्वरप्रसाद कोइराला (विपी) ले स्थापना गरेको राजनीतिको जगमा उभिएको बताएका छन् । ४३ औँ विपी स्मृति दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले विपीको संघर्ष, मूल्य र मान्यताले नै देश र नेपाली काँग्रेसलाई आजको उचाइमा ल्याइपुऱ्याएको धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उनले तत्कालीन पञ्चायती व्यवस्थाले ८ वटा ज्यान मुद्दा लगाएको अवस्थामा पनि राष्ट्रियता संकटमा परेको महसुस गरी भारत निर्वासनबाट ज्यानको बाजी लगाएर स्वदेश फर्कनु विपीको अदम्य साहस र राष्ट्रप्रेमको अनुपम उदाहरण भएको बताए । उनले भने, ‘त्यतिबेला विपी कोइरालाविरुद्ध पञ्चायती सरकारले ८ वटा ज्यान मुृद्दा लगाएको थियो । मृत्युदण्डसमेत पाउनसक्ने ती संघिन आरोपका समेत प्रवाह नगरी ज्यानको बाजी लगाएर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । वास्तवमा, आजको मुलुकको राजनीति पनि उहाँले अपनाएको नीतिको जगमा उभिएको छ ।’ 

सभापति देउवाले आफूहरुले पनि राजनीतिका कठिन दिनहरु भोगेको स्मरण गर्दै आज प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्न काँग्रेस बलियो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी सबैले राजनीतिका कठिन दिन भोगेर यहाँ आएका हौँ । बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले नै राष्ट्र स्वाधिन हुन्छ । साथै, समृद्धि पनि हासिल हुन्छ भन्ने उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’

विपीले सधैँ राजनीतिक स्वार्थभन्दा माथि राष्ट्रिय एकता र सामाजिक सद्भावलाई राखेको उल्लेख गर्दै देउवाले यसबाट सबैले शिक्षा लिनुपर्ने बताए । विपी कोइराला एक कुशल राजनीतिज्ञ मात्र नभएर साहित्यको क्षेत्रमा पनि एक चम्किलो तारा भएको उनको भनाइ थियो । प्रजातान्त्रिक समाजवादका चिन्तक विपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभई उनी आधुनिक नेपालका समेत निर्माता भएको देउवाले बताए

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । उनको स्मृतिमा हरेक वर्ष साउन ६ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी विपी स्मृति दिवस मनाइन्छ । यस अवसरमा नेपाली काँग्रेसले देशभर वृक्षारोपण, विचार गोष्ठी, तथा अन्य रचनात्मक कार्यक्रमहरु आयोजना गरेको छ । विपीले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराको प्रवर्तन गरेका थिए र उनका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ जस्ता उपन्यासहरु प्रकाशित छन् । 

वि.सं. २०१५ सालको आम निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए । तर, २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि कोइरालाले लामो समय जेल जीवन र निर्वासित जीवन बिताउनुपरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री