रसुवा बाढी : २९ करोडको बीमा दाबी, क्षतिको यकिन विवरण आउन बाँकी

काठमाडाैं । गत असार २३ गते रसुवाको लेन्दे खोलामा चीनतर्फबाट आएको भीषण बाढी र पहिरोले पुर्‍याएको ठूलो क्षतिको प्रारम्भिक बीमा दाबी करिब २९ करोड रुपैयाँ पुगेको छ । नौ वटा निर्जीवन बीमा कम्पनीहरूमा २८ करोड ९२ लाख रुपैयाँ बराबरका कुल ६३ वटा दाबी परेका छन् ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाका अस्तव्यस्त बनेको छ भने दुई सातादेखि चीनतर्फको व्यापार पूर्ण रूपमा ठप्प छ । सुख्खा बन्दरगाह, जलविद्युत आयोजना, सवारी साधन र कन्टेनरमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

परेका दाबीमध्ये शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै १६ करोड १२ लाख रुपैयाँ बराबरका १० वटा दाबी परेका छन् । त्यसैगरी, नेको इन्स्योरेन्समा ५ करोड १२ लाखका ३ वटा र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख रुपैयाँका ७ वटा दाबी दर्ता भएका छन् । अन्य कम्पनीहरू सानिमा जिआईसी, आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड, एनएलजी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पनि लाखौंको दाबी परेको छ । परेका कुल दाबीमा मोटर बीमा, सम्पत्ति बीमा, सामुद्रिक बीमा र इन्जिनियरिङ बीमाका दाबीहरू सामेल छन् ।

बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा उत्पादन बन्द भएको छ । यसका साथै २३ वटा मालवाहक कन्टेनर, ६ वटा ट्रक र ३५ वटा नयाँ विद्युतीय गाडीसहित ६४ वटा सवारीसाधन बगाएको अनुमान छ । बाढीमा परी सुरक्षाकर्मीसहित केही व्यक्ति बेपत्ता भएका छन् ।

स्याफ्रुबेशी-रसुवागढी सडकखण्डमा पुगेको क्षतिले पुनर्निर्माण र राहत कार्यमा चुनौती थपिएको छ । सडक खुलाउने प्रयास जारी रहे पनि नाका पूर्ण सञ्चालनमा आउन समय लाग्ने देखिएको छ । क्षतिको पूर्ण विवरण संकलन गर्ने काम जारी रहेकाले बीमा दाबी रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ । बीमा कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउन भनिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री