काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र घरेलु टोली बंगलादेशबीच ढाकामा निर्णायक भिडन्त हुँदैछ । प्रतियोगिताको अघोषित फाइनलको रूपमा हेरिएको यो खेलमा नेपाल, लिग चरणमा व्यहोरेको झिनो हारको बदला लिँदै पहिलो पटक उपाधि उचाल्ने दृढ संकल्पका साथ मैदानमा उत्रँदैछ ।
बंगलादेश भने घरेलु दर्शकको अगाडि लगातार दोस्रो पटक च्याम्पियन बन्ने दाउमा छ । दुई टोलीबीचको यो रोमाञ्चक खेल नेपाली समय अनुसार आज साँझ पौने ७ बजे सुरु हुनेछ । चार टोली सहभागी डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको यस प्रतियोगितामा फाइनलको छुट्टै व्यवस्था छैन । लिग चरणको समाप्तिपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली स्वतः च्याम्पियन घोषित हुनेछ । हाल बंगलादेश ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ४ खेलबाट १२ अंक जोडेको छ । उपाधि होडमा अब यिनै दुई राष्ट्र मात्र बाँकी छन् । भुटान र श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यसअघिको भेटमा अन्तिम समयमा गोल खाँदै बंगलादेशसँग ३-२ ले पराजित भए पनि नेपाली टोलीको मनोबल उच्च रहेको छ। प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपालले भुटानलाई ६-१ र ८-० तथा श्रीलंकालाई दुवै खेलमा ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले बंगलादेशविरुद्धको पहिलो खेलमा भएका गल्तीहरूलाई सच्याएर आक्रामक रणनीतिमा खेल्ने बताएका छन् । उनले भने, ‘हामी बंगलादेशसँग खेल्न तयार छौं । पहिलो खेलको गल्तीबाट पाठ सिकेका छौं र यसपटक आक्रामक फुटबल खेल्नेछौं ।’
यस्तै, नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताइन् । ‘पछिल्लो खेलमा भाग्यले साथ दिएन, तर हामी जुन लयमा छौं, त्यसलाई कायम राख्न सके जित हाम्रो हुनेछ,’ उनले भनिन्, ‘फुटबल टिमवर्क हो र हामी एकजुट भएर खेल्नेछौं । हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो ।’
कप्तान बिर्सनाले भनेजस्तै नेपालको आक्रमण पंक्ति प्रतियोगिताकै उत्कृष्ट देखिएको छ । स्ट्राइकर पूर्णिमा राई १० गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् भने अर्की स्ट्राइकर मीना देउवाले ७ गोल गर्दै उनलाई साथ दिएकी छिन् । दुवैले प्रतियोगितामा दुई-दुई ह्याट्रिक गरिसकेका छन् । साथै, स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गर्ने कुसम खतिवडा र समीक्षा मगरले पनि ३-३ गोल गरेका छन् ।
यता, घरेलु टोली बंगलादेशका खेलाडीहरू पनि उत्कृष्ट लयमा छन् । बंगलादेशकी सागोरिका, शान्ति मार्डी र तृष्णारानीले समान ४-४ गोल गर्दै आफ्नो टोलीको आक्रमणलाई बलियो बनाएका छन् । घरेलु मैदान र दर्शकको समर्थन बंगलादेशको पक्षमा भए पनि उत्कृष्ट लयमा रहेको नेपाली टोली इतिहास रच्नेमा विश्वस्त देखिन्छ ।




