श्रमिकको न्यूनतम पारिश्रमिक १९,५५० रुपैयाँ पुग्यो, प्रधानमन्त्री ओलीद्वारा प्रशंसा

काठमाडौं । सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै उनीहरूको जीवनस्तरमा सुधार ल्याउने निर्णय गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३०० रुपियाँबाट बढाएर १९ हजार ५५० रुपियाँ पुर्याइएको हाे । 

नयाँ सहमति अनुसार अब श्रमिकले मासिक आधारभूत पारिश्रमिक १२ हजार १७० र महङ्गी भत्ता ७ हजार ३८० रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक ४७० र महङ्गी भत्ता २८४ रुपियाँ तोकिएको छ । प्रतिघण्टा काम गर्ने श्रमिकले अब आधारभूत पारिश्रमिक ६३ रुपियाँ र महङ्गी भत्ता ३८ रुपियाँ पाउनेछन् । आंशिक समय काम गर्नेहरूका लागि प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपियाँ निर्धारण गरिएको छ ।

यस निर्णयप्रति प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले श्रम बिना प्रगति र श्रमिकको सम्मान बिना समृद्धि सम्भव नहुने बताए । उनेले लेखेका छन्, ‘सरकारले हिजो (साउन १ गते)देखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ । श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री