दुर्घटनामा ज्यान गुमाएका शिक्षकको परिवारलाई नेपाल बैंकद्वारा ५ लाखको बीमा भुक्तानी

काठमाडौं । नेपाल बैंकले मकवानपुरका एक शिक्षकको सडक दुर्घटनामा परी भएको दुःखद निधनपछि उनको परिवारलाई ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। बैंकको पालुङ शाखामा तलब खाता सञ्चालन गरिरहेका शिक्षक रघुनन्दन यादवको परिवारलाई बैंकले उक्त राहत रकम प्रदान गरेको हो।

यही असार २२ गते आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले मृतककी श्रीमती अमिरा कुमारी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले स्व. यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

उनले भने, “नेपाल बैंक आफ्ना ग्राहकको वित्तीय सुरक्षालाई सधैं उच्च प्राथमिकतामा राख्छ। यो सहयोग हाम्रो त्यही प्रतिबद्धताको एक हिस्सा हो।”

चेक ग्रहण गर्दै स्व. यादवकी पत्नी अमिरा कुमारी यादवले दुःखको घडीमा कुनै झन्झटबिना नेपाल बैंकबाट प्राप्त आर्थिक सहयोगले परिवारको गुजारामा ठूलो राहत मिलेको बताइन्।

थाहा नगरपालिका वडा नं. १ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयका शिक्षक यादवको गत जेठ १२ गते थाहा-३ मा भएको सडक दुर्घटनामा निधन भएको थियो। नेपाल बैंकले कर्मचारी तलब खातावाला ग्राहकका लागि खाता खोलेको एक वर्षभित्र दुर्घटनामा मृत्यु भएमा ५ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आएको छ। सोही व्यवस्थाअनुसार यादवको परिवारलाई दाबी भुक्तानी गरिएको बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री