काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले करिब १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाइनान्सले नगरमा स्थापना भएको ‘नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र’ को प्रभावकारी सञ्चालनका लागि उक्त सहयोग प्रदान गरेको हो ।
फाइनान्सको नेपालगञ्ज शाखाले एक कार्यक्रमबिच केन्द्र सञ्चालनका लागि अत्यावश्यक स्वास्थ्य उपकरण तथा केमिकलहरू नगरपालिकालाई हस्तान्तरण गरेको हो । फाइनान्सकी नेपालगञ्ज शाखा प्रमुख स्नेहा भुसालले कोहलपुर नगरपालिकाका प्रतिनिधिहरूलाई उक्त सामग्री हस्तान्तरण गरिन् ।
सो अवसरमा बोल्दै शाखा प्रमुख भुसालले नागरिकको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सानो भए पनि योगदान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको बताइन् । उनले भने, “मन्जुश्री फाइनान्स नाफामुखी संस्था मात्र नभएर समाजप्रति पनि उत्तरदायी छ। हामीले यस्ता सामाजिक कल्याणका कार्यहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
वित्तीय क्षेत्रमा आफ्नो अब्बल उपस्थिति जनाउँदै आएको मन्जुश्री फाइनान्सले देशभर २७ शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । हालसम्म कम्पनीले करिब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । वित्तीय सेवाका साथै सामाजिक कार्यमा समेत देखाएको सक्रियताले संस्थाको छविलाई थप उँचो बनाएको छ ।




