काठमाडौं । प्युठानमा पूर्व पत्नीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणि बरालको हत्या आरोपमा उनका पूर्वपति लीलबहादुर बराललाई प्रहरीले पक्राउ गरेको हो।
ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लीलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिए । आफन्तको घरमा रहेकी रुक्मणिलाई लीलबहादुरले चक्कु प्रहार गरेर हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डीएसपी बस्यालका अनुसार रुक्मणि आफ्नी जेठानी डिला परियारको घर गएकी थिइन् । डिलाका अनुसार लीलबहादुरले रुक्मणिलाई घरमै चक्कु प्रहार गरेका हुन् । आफूहरू कुरा गरिरहेको समयमा घरभित्र पसेका उनले रुक्मणिलाई चक्कु प्रहार गरेका डिलाले बताइन् । ‘मैले कराएँ, नहान्नु भनेँ, तर सुनेन । आँखै अगाडि छुरा प्रहार गरे । हारगुहार गर्दा पनि केही उपाय लागेन,’ डिलाले भनिन् ।
इजरायलमा रोजगाररत लीलबहादुर यही असार २४ गते मंगलबार मात्रै घर फर्केका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी इन्स्पेक्टर निरञ्जन रिजालका अनुसार आफू विदेशमा रहेको समयमा अर्को विवाह गरेपछि लीलबहादुरले रुक्मणिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




