- सबैभन्दा बढी क्षति भएको रसुवागढी आयोजनाको मर्मतमा केही समय लाग्ने, ६० मेगावाटको त्रिशूली ‘ए’ केही दिनमै सञ्चालनमा आउने मन्त्री खड्काको भनाइ
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएकामध्ये करिब ९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन् ।
बाढीले त्रिशूली नदी करिडोरमा रहेका आयोजनामा गम्भीर क्षति पुर्याउँदा कुल २६० मेगावाट विद्युत् उत्पादन ठप्प भएको थियो । मन्त्री खड्काका अनुसार, मर्मत तथा सम्भार कार्यलाई तीव्रता दिँदै हालसम्म चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि र अपरमैलुङलगायतका आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन पुनः सुरु भइसकेको छ ।
यसैगरी, ६० मेगावाट क्षमताको महत्त्वपूर्ण आयोजना त्रिशूली ‘ए’ पनि केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।
यद्यपि, बाढीले सबैभन्दा बढी क्षति पुर्याएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनःसञ्चालनमा भने केही समय लाग्ने देखिएको छ । “रसुवागढी आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ । यसको ‘हेडवर्क्स’ पूर्ण रूपमा ध्वस्त भएको छ,” मन्त्री खड्काले भने, “यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने गरी काम सुरु गरिसकेका छौँ ।”
उनले हाल बाढीको बहाव केही घटे पनि जोखिम कायमै रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे । क्षतिको विस्तृत अध्ययन तथा मूल्याङ्कन कार्य अघि बढाइएको र सावधानीका सबै उपाय अवलम्बन गरिएको उनको भनाइ थियो ।
जलवायु परिवर्तनका असरहरू बढ्दै जाँदा भविष्यमा यस्ता घटना दोहोरिन सक्ने तर्फ सङ्केत गर्दै मन्त्री खड्काले पूर्वतयारीमा जोड दिए । “पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री, सक्रिय र प्रभावकारी बनाउँदै हिमतालको जोखिम मूल्याङ्कन तथा अनुगमनलाई संस्थागत गर्नुपर्ने आवश्यकता देखिएको छ,” मन्त्री खड्काले भविष्यको योजनाबारे स्पष्ट पारे ।




