काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । पूर्वअध्यक्ष शरदकुमार ओझामाथि छानबिन सुरु भएपछि रिक्त रहेको पदमा पोखरेललाई सरकारले नियुक्त गरेको हो ।
उनले मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । यसअघि, प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध उजुरी परेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।
बीमा ऐन, २०७९ को दफा १२ को उपदफा २ बमोजिम सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समिति गठन भएसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् ।
ओझा निलम्बनमा परेपछि प्राधिकरणको दैनिक कार्य सञ्चालनमा बाधा नहोस् भनी मन्त्रिपरिषद्ले सहसचिव पोखरेललाई ‘अर्को व्यवस्था नहुँदासम्मका लागि’ अध्यक्षको जिम्मेवारी दिएको हो।




