काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि भ्रष्टाचारको संगीन आरोप लगाएपछि सत्तारूढ दल एमालेले त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।
बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक शाहीले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै आक्रामक अभिव्यक्ति दिएका थिए । उनले हालै सार्वजनिक भएको घुस डिल प्रकरणको अडियोतर्फ संकेत गर्दै सरकारको आलोचना गरे । ‘नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर तपाईंहरू गिनिज बुकमा नाम लेखाउनुस्,’ शाहीले व्यङ्ग्यात्मक शैलीमा भने, ‘ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनू ।’
शाहीको उक्त अभिव्यक्तिको लगत्तै एमालेकी सचेतक सुनिता बरालले नियमापत्ति जनाउँदै संसद्लाई निराधार आरोप-प्रत्यारोपको थलो बनाउन नहुने बताइन् । ‘पूर्ववक्ता माननीय सदस्यले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो, यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ,’ बरालले भनिन्, ‘यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’
उनले संसद्मा आधारहीन आरोप लगाउने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् । ‘यो सदन यस्ता गलत प्रवृत्ति र मानकहरू स्थापित गर्नका लागि होइन । सिंगो सरकारको नेतृत्वमाथि आरोप लगाएर देशकै बदनाम गर्न खोजिँदैछ,’ उनले भनिन् ।




