काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो स्थापनाको १४ वर्ष पूरा गरेको छ । सन् २०१० देखि स्वादिष्ट भोजनलाई ग्राहकको घरदैलोसम्म पुर्याउँदै आएको फुडमाण्डुले ‘लाइफ अझै बेटर’ को नाराका साथ आफ्नो सेवालाई थप परिष्कृत र विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
सुरुवातमा काठमाडौं उपत्यकामा सीमित फुडमाण्डुले पोखरा, चितवन र बुटवलजस्ता प्रमुख शहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीसँग १ हजारभन्दा बढी रेस्टुरेन्टहरू आवद्ध छन्, जसले ग्राहकलाई स्वादको बृहत् छनोट प्रदान गर्दछ । खाना डेलिभरीमा मात्र सीमित नरही, कम्पनीले ‘वनमार्ट’ मार्फत किराना तथा दैनिक उपभोग्य वस्तुहरूको द्रुत डेलिभरी सेवा पनि सुरु गरेको छ ।
कम्पनीकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, ‘विगत १४ वर्षदेखि हाम्रो उद्देश्य केवल खाना पुर्याउनु मात्र होइन, ग्राहकको व्यस्त जीवनमा सहजता र खुशी थप्नु पनि हो । ‘लाइफ अझै बेटर’ हाम्रो कामको मूल सिद्धान्त हो र हामी यसैअनुसार हाम्रा सेवाहरूलाई निरन्तर सुधार गर्दै जानेछौं ।’
एक सानो प्रयासबाट सुरु भएको फुडमाण्डु आज हजारौं घरपरिवारको दैनिक जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ । स्वाद, सुविधा र समयको बचत प्रदान गर्दै शहरी जीवनशैलीलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।




