वर्षाले बीपी राजमार्ग फेरि क्षतविक्षत, खुलाउन अझै घण्टौँ लाग्ने

काठमाडौं । निरन्तरको मुसलधारे वर्षाका कारण मुलुककै वैकल्पिक र महत्त्वपूर्ण मानिएको बीपी राजमार्गमा यात्रा गर्नु यतिबेला जोखिमपूर्ण र कष्टकर बनेको छ । हरेक दिनजसो खस्ने पहिरो र उर्लिने खोलाका कारण यो राजमार्ग यात्रुका लागि ‘यात्रा पासो’ बन्न थालेको छ । सोमबार दिउँसो केही घण्टाका लागि खुलेको राजमार्ग सोही रात ८ बजेदेखि पुनः ठप्प छ, जसले गर्दा काठमाडौँ र पूर्वी तराईबीचको सम्पर्क टुटेको छ । 

सोमबार राति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले राजमार्गको काभ्रे र सिन्धुली खण्ड क्षतविक्षत बनाएको छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार राजमार्गका दर्जनौँ स्थानमा क्षति पुगेको छ । काभ्रेको रोशी गाउँपालिका-९ स्थित पिन्थलीबेशी, मंगलटारको बिरुवाडाँडामा रहेको फेदीखोला र साङखोला, रोशी-११ को कालढुंगा तथा वडा नं. ११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीले सडक कटान गरेको छ ।

त्यस्तै, काभ्रे र सिन्धुलीको सिमानामा रहेको बर्खेखोलाको बाढीले सडक अवरुद्ध बनाएको छ भने रोशीकै पिप्ले र पानीटारेनजिक पनि पहिरो खसेको छ । ठाउँ-ठाउँमा सडकमाथिबाट लेदो खस्ने र तलबाट खोलाले कटान गर्ने क्रम जारी रहँदा राजमार्गको अवस्था भयावह बनेको छ ।

सडक अवरुद्ध भएलगत्तै प्रहरी, सडक विभाग र निर्माण कम्पनीको टोली राजमार्ग खुलाउन खटिएको छ । ‘अहिले रोशी-९ पिन्थलीको लेदो हटाएर बिरुवाडाँडाको लेदो पन्छाउने काम सुरु भएको छ,’ प्रहरी प्रमुख कार्कीले भने, ‘सडक दुवैतर्फबाट बन्द छ । पहिरो र लेदोको मात्रा धेरै भएकाले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै ३/४ घण्टा लाग्न सक्छ । हामी सडक विभाग र एवन निर्माण सेवासँगको समन्वयमा तीव्र गतिमा काम गरिरहेका छौँ ।’

राजमार्ग बन्द हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने र पूर्वबाट राजधानी भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र परेका छन् । यात्रु र सवारी साधनको सुरक्षाका लागि प्रहरीले विभिन्न स्थानमा गाडीहरूलाई रोकेको छ । काभ्रेबाट सिन्धुलीतर्फ जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा रोकिएको छ। उता, सिन्धुली प्रहरीले सदरमुकाम सिन्धुलीमाडी, खुर्कोट र हिरापानी चेकपोष्ट लगायतका सुरक्षित स्थानमा सवारी साधनलाई रोकेको छ । राजमार्गमा सवारी साधनको अन्तहीन जाम लागेको छ भने यात्रुहरू भोक, प्यास र अनिश्चितताका बीच सडकमै रात बिताउन बाध्य छन् ।

यो राजमार्गमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएको यो पहिलो पटक होइन । यसअघि असार १६, २५ र २६ गते पनि पिन्थलीमा र असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भइसकेको थियो । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री