काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ पाइला टेक्छन्, त्यहाँबाट कुनै न कुनै विवाद र बेथितीको खबर आउने गरेको भन्दै कडा टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सरकारको सुशासनको दाबीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आक्रामक देखिएका प्रचण्डले उनको विदेश भ्रमणहरू सधैँ विवादमा पर्ने गरेको सङ्केत गरे । हालैको स्पेन भ्रमणको घटनालाई लक्षित गर्दै उनले भने, ‘प्रधानमन्त्री जहाँ पुग्नुहुन्छ, त्यहाँबाट केही न केही बेथितीका खबर आउँछन् । अहिले स्पेनबाट पनि त्यस्तै आएको छ ।’
उनले अगाडि भने, ‘स्पेनबारे तपाईं प्रत्यक्ष संलग्न हुनुहुन्छ वा हुनुहुन्न, त्यो मेरो आरोप होइन । तर, तपाईंले टेकेको ठाउँमा विवाद आउने गरेको विषयमा पक्कै पनि ध्यान दिनुभएको होला ।’ यति मात्र होइन, प्रचण्डले गत वर्षको अमेरिका भ्रमणमा भएका गतिविधिलाई पनि स्मरण गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे, जसले सत्ता र प्रतिपक्षबीचको तिक्ततालाई उजागर गरेको छ ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल भएको आरोप लगाए । सरकारका मन्त्रीहरू नै एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारको नियतमाथि नै शङ्का व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘खुल्लमखुला सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदासमेत सरकार अझै सुशासनकै दिशामा छ भन्ने तपाईंलाई लागेको छ ?’




