काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय संस्था ‘डाइरेक्ट रिलिफ’ले उपलब्ध गराएका करोडौँ मूल्य बराबरका औषधि तथा स्वास्थ्य सामग्री मन्त्रालयमार्फत चार प्रमुख क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
‘वान हार्ट वर्ल्डवाइड’को समन्वयमा प्राप्त यी औषधि बिरामीहरूले अब निःशुल्क पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य मन्त्रालयले सो सामग्रीहरू तत्कालै देशका चार प्रमुख क्यान्सर उपचार केन्द्रहरू विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पताललाई वितरण गरेको छ ।
हस्तान्तरण गरिएका औषधिहरू विशेषगरी स्तन क्यान्सर, साथै प्लाक सोरियासिस र अल्जाइमर जस्ता जटिल स्वास्थ्य समस्याको उपचारमा प्रयोग हुने महँगा औषधिहरू हुन् । यी औषधिहरूको अभावमा उपचारबाट वञ्चित वा आर्थिक भारमा परेका बिरामीहरूलाई यो सहयोगले प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।
अमेरिकी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोगमा उपलब्ध यी औषधि तथा स्वास्थ्य सामग्रीहरू गत असार २७ गते नै नेपाल आइपुगेका थिए । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ती सामग्रीहरूको सुरक्षित भण्डारणको व्यवस्था मिलाएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाता तथा सहयोगी निकायहरूसँगको समन्वयमा यस्ता अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री भविष्यमा पनि निरन्तर रूपमा उपलब्ध गराउन पहल भइरहेको जनाएको छ । यसले दीर्घरोगीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउन मद्दत पुग्ने मन्त्रालयको भनाइ छ ।




