काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र निष्ठा र त्यागको राजनीति संकटमा परेको स्वीकार्दै देश र जनताका लागि निःस्वार्थ काम गर्ने नेता-कार्यकर्ता पाउन मुस्किल भएको टिप्पणी गरेका छन् । बागलुङ कांग्रेसका संस्थापक नेता स्वर्गीय गोविन्दप्रसाद शर्मा कँडेलको १३औं दिनको पुण्यतिथिको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले कँडेलजस्तो त्याग र सिद्धान्तमा अडिग रहने नेताको अभाव पार्टीले भोगिरहेको बताएका हुन् ।
बागलुङको काठखोला गाउँपालिका-५ स्थित कँडेल निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले भने, ‘गोविन्दप्रसादजीले राजनीतिमा लागेर कहिल्यै केही माग्नुभएन, उहाँको जस्तो त्याग र निष्ठा अबको पुस्तामा पाउन गाह्रो छ ।’ वर्तमान राजनीतिक परिवेशप्रति चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न सके मात्र सबैको राजनीतिक भविष्य सुरक्षित हुने धारणा राखे र सबैलाई लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आग्रह गरे ।
देउवाले कँडेलको त्यागको प्रशंसा गर्नुको पछाडि उनको राजनीतिक जीवनको लामो सङ्घर्ष र निष्ठा जोडिएको छ । कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा त्यसलाई गल्ती हो भन्दै सार्वजनिक रूपमा औंला ठड्याउने थोरै नेताहरूमध्ये उनी एक थिए । प्रजातन्त्रका लागि उनको समर्पण यति प्रगाढ थियो कि २०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा कँडेल विमानस्थलबाटै पक्राउ परी ७ वर्ष जेल जीवन बिताउन बाध्य भएका थिए ।
श्रद्धाञ्जली सभामा कांग्रेसका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले कँडेललाई सिद्धान्तनिष्ठ र सादगी नेताका रूपमा स्मरण गरे। उनले भने, ‘कँडेलजी विचार र सिद्धान्तका लागि लड्नुभयो, पद र प्रतिष्ठाका लागि कहिल्यै मरिहत्ते गर्नुभएन ।’ कार्यक्रममा केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायतका नेताहरूले पनि कँडेलको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
आफ्नो जीवनको अन्तिम समयसम्म पनि कँडेल राजनीतिक र बौद्धिक रूपमा सक्रिय थिए । उनी पछिल्लो समय बीपी चिन्तन प्रतिष्ठानको अध्यक्षका रूपमा क्रियाशील थिए। उनको निधन हुनुभन्दा केही दिनअघि मात्रै, असार २ गते, उनकै अध्यक्षतामा प्रतिष्ठानले ‘तीन तहको बजेट निर्माण प्रक्रियाका समस्या’ विषयक महत्त्वपूर्ण छलफल कार्यक्रम आयोजना गरेको थियो । असार १५ गते उनको निधन भएको हो । कँडेलको निधनले कांग्रेसले एक त्यागी र अभिभावक गुमाएको नेताहरूको भनाइ थियो ।




