तनाव व्यवस्थापन र आध्यात्मिक जागरणका लागि बीपी नेत्र प्रतिष्ठानमा योग शिविर

काठमाडौं । गुरुपूर्णिमा तथा व्यास जयन्तीको पूर्वसन्ध्यामा भक्तपुरको लोकन्थलीस्थित बीपी नेत्र प्रतिष्ठानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि एक विशेष योग तथा जीवन विज्ञान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जीवन योग प्रयोगशालासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य व्यस्त र संवेदनशील कार्यक्षेत्रमा कार्यरत अस्पतालका कर्मचारीहरूलाई तनावमुक्त बनाउँदै शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्नु रहेको थियो ।

बुधबार अपराह्न आयोजित करिब दुई घण्टा लामो उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठान व्यवस्थापन समितिका अध्यक्ष, शताब्दी पुरुष एवं गीताका अध्येता श्री गौरीशंकर लालदासले गर्नुभएको थियो । उहाँले स्वागत मन्तव्य राख्दै योग र अध्यात्मलाई जीवनको अभिन्न अङ्ग बनाउन सके मात्रै समग्र जीवन सार्थक हुने विचार व्यक्त गर्नुभयो । डा. दास स्वयं एक योगी व्यक्तित्व भएकाले उहाँको उपस्थिति र मन्तव्यले कार्यक्रममा विशेष ऊर्जा थपेको थियो ।

कार्यक्रममा जीवन विज्ञान योगकी प्रशिक्षक डा. आरती रेग्मीले योगका विविध पक्षबारे जानकारी दिँदै सहभागीहरूलाई विधिवत् योगाभ्यास गराउनुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको कर्णप्रिय भजन र गुरु महिमासम्बन्धी वाणीले वातावरणलाई सकारात्मक र आध्यात्मिक बनाएको थियो ।

त्यसैगरी, प्रतिष्ठानका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. दीपक रेग्मीले मानव शरीरमा रहेका सूक्ष्म चक्रहरूको वैज्ञानिक र आध्यात्मिक महत्त्वलाई अत्यन्त सरल र प्रभावकारी शैलीमा व्याख्या गर्नुभएको थियो । उहाँले शरीर, मन र आत्माको संयोजनबाट कसरी तनावलाई परास्त गर्न सकिन्छ भन्ने विषयमा दिनुभएको प्रवचनले सहभागीहरूलाई योगप्रति थप आकर्षित गरेको थियो । “आध्यात्मिक योग साधनाले जीवनमा अवश्य सकारात्मक परिवर्तन ल्याउँछ,” डा. रेग्मीले भन्नुभयो ।

अस्पतालका निर्देशक बद्रीप्रसाद बडूको हार्दिकता र योगप्रतिको सकारात्मक दृष्टिकोणका कारण सम्भव भएको उक्त कार्यक्रममा जीवन विज्ञान योग केन्द्रीय परिषद्का सहसंयोजक सुनील बस्नेत, अन्तर सम्बन्ध वृत्तका संयोजक सुरेन्द्रमान बिजुक्षे, बागमती प्रदेश संयोजक सन्तोष खड्का र भक्तपुर जिल्ला परिषद् संयोजक गणेशमान श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रमको समापन गर्दै निर्देशक बडूले यस्ता कार्यक्रमले कर्मचारीको कार्यक्षमता र मनोबल उच्च राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पुण्य घिमिरेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमले स्वास्थ्य सेवाजस्तो गहन जिम्मेवारीमा रहेका व्यक्तिहरूका लागि योगको उपादेयतालाई पुनः पुष्टि गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री