काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीभित्र पारदर्शिता र खुलापनको दिशामा एक महत्त्वपूर्ण कदम चाल्दै आगामी दिनमा केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार उक्त घोषणा गरेका हुन् ।
उनले बैठकमा नेताहरूले बोल्ने र बाहिर गएर सञ्चारमाध्यमलाई जानकारी दिने दुईथरी अभ्यास अन्त्य गर्दै अब सीधै ‘लाइभ’ जाने व्यवस्था मिलाइने बताए । बैठकका गतिविधि गोप्य राख्ने प्रयास निरर्थक भएकोतर्फ संकेत गर्दै उनले भने, ‘यसपटककै बैठक प्रत्यक्ष प्रसारण गर्न पाएको भए राम्रो हुने रहेछ । यहाँ भएका सबै कुराहरू बाहिर गएर नेताहरूले बोलिहाल्नुहुन्छ । अबदेखि प्रत्यक्ष प्रसारण गर्ने समझदारी लागू गरौँ ।’
उनले सबै नेताहरूमा आफ्ना धारणा र विचार जनता र सञ्चारमाध्यमसमक्ष पुर्याउने चाहना रहेको उल्लेख गर्दै प्रत्यक्ष प्रसारणले सबैलाई बोल्ने समान अवसर दिने र पार्टीलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरे । ‘सबै साथीहरूलाई बोल्ने इच्छा छ, राम्रो बोल्नुहुन्छ। सबैलाई लाइभमै बोल्ने इच्छा पनि देखियो,’ देउवाले थपे ।




