प्रभु बैंकको सञ्चालक अध्यक्षमा किशोर जङ्ग कार्की, राष्ट्र बैंक गभर्नर समक्ष शपथ

काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की नियुक्त भएका छन्। सोमबार कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका हुन्।

शपथ ग्रहण कार्यक्रम राष्ट्र बैंकको वालुवाटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो, जसमा डेपुटी गभर्नर निलम ढुङ्गाना, यम बहादुर मिश्र र बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत पनि सहभागी थिए।

कार्की मिति २०८१ मंसिर २९ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहका तर्फबाट सञ्चालकमा निर्वाचित भएका थिए। त्यसपछि मिति २०८२ असार १९ गते बसेको सञ्चालक समितिको ३८०औं बैठकबाट उनी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका अध्यक्ष कार्कीले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र सामान्य प्रशासन मन्त्रालयमा सहसचिवका रूपमा काम गरिसकेका छन्।

त्यसैगरी, निजामति किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी निर्वाह गरेका उनले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद् लगायत संस्थामा पनि सञ्चालक समितिका सदस्यको भूमिका निर्वाह गरिसकेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री