काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिन्दुहरूका आराध्यदेव भगवान् शिव किराँत समुदायको चाम्लिङ जातिसँग सम्बन्धित हुनसक्ने एक रोचक अनुमान प्रस्तुत गरेका छन् । नेपालको धार्मिक तथा सांस्कृतिक धरोहरहरूको मौलिकता र प्राचीनतामाथि प्रकाश पार्ने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित नेकपा एमालेनिकट पर्यटन तथा नागरिक उड्डयन विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोटाङस्थित प्रसिद्ध तीर्थस्थल हलेसी महादेवको क्षेत्र किराँती चाम्लिङहरूको उद्गम थलो भएको उल्लेख गरे । उनले शिवले विचरण गरेको पवित्र भूमि हलेसी भएको र त्यस क्षेत्रको ऐतिहासिकताका आधारमा भगवान् शिव चाम्लिङ समुदायको हुनसक्ने तर्क अघि सारेका थिए ।
आफ्नो अनुमानबारे थप प्रस्ट्याउँदै उनले भने, ‘शिवजीले खेलेका ओडारहरू, जसलाई हामी हलेसी भन्छौँ । कहिलेकाहीँ लाग्छ, शिवजी चाम्लिङ थिए कि क्या हो ? त्यो चाम्लिङको थलो हो। हलेसी भनेको चाम्लिङको थलो हो ।’
यद्यपि, प्रधानमन्त्री ओलीले आफ्नो भनाइलाई अकाट्य दाबी नभई केवल एक व्यक्तिगत अनुमान र विश्लेषण भएको स्पष्ट पारे । उनले भने, ‘शिवजी चाम्लिङ पनि हुनसक्छन् । म यसमा दाबी गर्दिनँ, यो मेरो कुनै दाबी होइन, तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । पछि बसाइँसराइ वा अन्य कारणले मिश्रण भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल ज्ञानभूमि र तपोभूमि भएको बताउँदै वेदव्यास, कपिलमुनि र भगवान् गौतम बुद्धजस्ता विश्वप्रसिद्ध दार्शनिक तथा महापुरुषहरूको जन्मभूमि नेपाल नै भएको तथ्यलाई विश्वसामु दृढतापूर्वक राख्नुपर्नेमा जोड दिए ।




