आरोपित आफैँले प्रहरीलाई फोन गरेर भने- ‘मैले हत्या गरेँ, पक्रन आउनुहोस्’

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा शनिबार राति हत्याकाण्ड भएको छ, जहाँ ससुराली गएका एक युवकले आफ्नै सासू, ससुरा, पत्नी र सालो गरी एकै परिवारका चार जनाको छुरा प्रहार गरी हत्या गरेका छन् । पारिवारिक कलहले उग्र रूप लिँदा भएको यो घटनाले सिंगो गाउँलाई स्तब्ध बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर नगरपालिका–२, हेलौंछाका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी मनिषा गिरी र सालो सपन गिरीको हत्या गरेका हुन् । यो घटनाले गिरी परिवार नै सखाप भएको छ ।

हत्यापछि राजेन्द्रले आफैँ प्रहरीको कन्ट्रोल कक्षमा फोन गरेका थिए । प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार, शनिबार राति करिब ११ बजेतिर राजेन्द्रले फोनमा भने, ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुहोस् ।’

सूचनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घरभित्र चारै जनालाई रक्ताम्य अवस्थामा मृत फेला पारेको थियो । हत्या आरोपित राजेन्द्रलाई भने प्रहरीले घटनास्थलबाट करिब पाँच किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट घाइते अवस्थामा पक्राउ गरेको छ । उनको पेटमा चोट लागेकाले थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको पछाडि गहिरो पारिवारिक मनमुटाव रहेको संकेत गरेको छ । राजेन्द्रकी पत्नी मनिषालाई करिब डेढ महिनाअघि उनकी आमा मञ्जुले माइतीघर धोदलेखानी ल्याएकी थिइन् । पत्नीलाई घर फर्काउने उद्देश्यले राजेन्द्र ६ दिनअघि मात्र ससुराली पुगेका थिए । यही विवादले हिंसात्मक मोड लिएको प्रहरीको अनुमान छ ।

पक्राउ परेका राजेन्द्रले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा भने आत्मरक्षाको दाबी गरेका छन् । उनले भनेका छन्, ‘खाना खाएर सुतेको बेला अचानक सासूले मलाई छुरा हान्नुभयो, त्यसपछि मैले छुरा खोसेर उहाँहरूमाथि नै प्रहार गरेँ ।’

प्रहरीले उनको बयानको सत्यता र घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । एकै परिवारका चार सदस्यको हत्याले स्थानीय त्रसित बनेका छन् र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री