ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फण्ड असार २२ गतेदेखि निष्काशनमा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ । यस योजनाले सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।

ग्लोबल आइएमई क्यापिटलको समुन्नत योजना २ को प्रारम्भिक कोष आकार रु. १ अर्ब २० करोड रहनेछ, जुन बढीमा रु. १ अर्ब ५० करोड सम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ । यस योजनामा १२ करोड इकाईहरू सर्वसाधारणका लागि निष्काशन गरिनेछन्, जसको प्रति इकाई मूल्य रु. १० निर्धारण गरिएको छ ।

यो योजना बन्दमुखी योजना हुनेछ र यसको अवधि १० वर्ष राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई लगानी गर्न सक्नेछन्, जबकि अधिकतम लगानी १.२० करोड इकाई सम्म हुन सक्छ ।

योजनाको विशेषताहरू

  • योजनाको प्रकारः बन्दमुखी योजना
  • फन्ड नामः ग्लोबल आइएमई म्युचुअल फन्ड
  • योजना नामः ग्लोबल आइएमई समुन्नत योजना २
  • कोष आकारः प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)
  • प्रति इकाई मूल्यः रू. १०
  • सर्वसाधारणमा निष्काशन गरिने इकाइहरूः १२ करोड इकाईहरू
  • न्यूनतम लगानीः १०० इकाई
  • अधिकतम लगानीः योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
  • योजना अवधिः इकाई बाँडफाँड मिति देखि १० वर्ष
  • लाभांश नीतिः प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
  • सूचीकरणः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
  • प्रारम्भिक लगानीः १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
  • व्यवस्थापन शुल्कः नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
  • डिपोजिटरी शुल्कः नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी मिश्रण

ग्लोबल आइएमई समुन्नत योजना २ ले लगानीकर्तालाई इक्विटी र निश्चित आम्दानी युक्त साधनहरूमा लगानी गरेर सन्तुलित जोखिम व्यवस्थापन गर्ने अवसर दिनेछ ।

यस योजनामा इक्विटी को हिस्सा ७०–९० प्रतिशत, ऋणपत्र र फिक्स्ड डिपोजिट को हिस्सा क्रमशः ०–१० प्रतिशत राखिएको छ ।

अनुमानित प्रतिफल

ग्लोबल आइएमई क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार, लगानीकर्ताले १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । पहिलो ९ वर्षसम्म ८% देखि २०% सम्म लाभांश वितरणको संभावना रहेको पनि प्रक्षेपण गरिएको छ ।

ग्लोबल आइएमई क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो, जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त संस्थान हो र यसको प्रमुख स्वामित्व ग्लोबल आइएमई बैंक को रहेको छ ।

यस योजनामा इक्रा नेपाल ले कोष प्रबर्धकलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस“ प्रदान गरेको छ भने, योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले “आईआरएन एएमसी क्वालिटी ३ प्लस“ रेटिङ्ग प्रदान गरेको छ ।

लगानीकर्ताका लागि आकर्षक अवसर

ग्लोबल आइएमई क्यापिटलका अनुसार, यस योजनाले विविधीकरण, सस्तो लगानी, पारदर्शिता, कर छुट जस्ता प्रमुख फाइदाहरू पनि प्रस्ताव गर्दछ । यसका साथै, लगानीकर्तालाई व्यवसायिक व्यवस्थापन, सहजता र पहुँच जस्ता विशेषताहरू पनि प्राप्त हुनेछ ।

ग्लोबल आइएमई समुन्नत योजना २ को निष्काशन सार्वजनिक भएपछि, नेपालका विभिन्न आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।

ग्लोबल आइएमई क्यापिटलको नयाँ समुन्नत योजना २ नेपालको लगानी बजारमा सस्तो र सुरक्षित लगानी अवसरको रूपमा देखा परेको छ । यस योजनामा लगानी गर्ने इच्छुक व्यक्तिहरूले समुन्नत आर्थिक प्रतिफलको अवसर प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री