काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश अभिभावकविहीन बन्दा छाडातन्त्र, संस्थागत भ्रष्टाचार र विदेशी हस्तक्षेप डरलाग्दो रूपमा मौलाएको भन्दै यसको समाधानका लागि अभिभावकीय भूमिकामा राजसंस्था अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
पार्टीको नीति तथा अनुसन्धान विभागले राजधानीमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले हाल मुलुकमा कसैको पनि डर र भर नभएका कारण राष्ट्रहितविपरीतका कामसमेत निर्धक्कसँग भइरहेको जिकिर गरे । ‘मुलुक अभिभावकविहीन छ, यही कारणले गर्दा विदेशीहरूको चलखेल र हस्तक्षेप बढेको छ,’ उनले भने, ‘राष्ट्रियता कमजोर हुँदा राष्ट्रद्रोही गतिविधि गर्नेहरू पनि डराएका छैनन् ।’
थापाले देशमा संस्थागत भ्रष्टाचारले जरा गाडेको र धर्म निरपेक्षताको आडमा संगठित रूपमा भइरहेको धर्मान्तरणले सामाजिक सद्भावमाथि नै खतरा उत्पन्न गरेको भन्दै गहिरो चिन्ता व्यक्त गरे । विकृतिको अन्त्य र राष्ट्रियताको संरक्षणका लागि आफ्नो पार्टीले राजसंस्थालाई वैचारिक आधार बनाएको स्पष्ट पार्दै उनले भने, ‘राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणका लागि राजसंस्था हाम्रो आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो ।’
कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू डा. विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अन्जना शाह रावल र जिबछ मिश्रले पनि मुलुकको वर्तमान राजनीतिक अवस्था र पार्टीको वैकल्पिक मार्गचित्रबारे आफ्ना धारणा राखेका थिए ।




