सावधान ! घर-घरमा डेङ्गुको आतङ्क, सरकारले दियो भयावह सङ्क्रमणको चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले ६० हजारभन्दा बढी नागरिक डेङ्गुबाट सङ्क्रमित हुनसक्ने चिन्ताजनक आँकलन सार्वजनिक गरेको छ । मनसुन सक्रिय भएसँगै डेङ्गु फैलाउने लामखुट्टेको प्रजनन तीव्र हुने हुँदा आउँदा दिनहरू थप चुनौतीपूर्ण बन्ने सङ्केत देखिएको छ ।

मङ्गलबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गुको जोखिम उच्च रहेको बताए । “डेङ्गु फैलने मुख्य समय सुरु भइसकेको छ, जुनसुकै बेला र जुनसुकै ठाउँमा यसले महामारीको रूप लिनसक्छ,” उनले भने, “साउनदेखि कात्तिकसम्मको चार महिना हामी सबै उच्च सतर्कतामा रहनुपर्छ ।”

महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गु फैलिसकेको छ र १ हजार ६ सय जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । तर, यो सरकारी तथ्याङ्कभन्दा वास्तविक सङ्क्रमितको सङ्ख्या निकै बढी हुनसक्ने डा. दाहालको भनाइ छ । उनले भने, “धेरै बिरामीमा लक्षण नदेखिने, देखिएकाले पनि परीक्षण नगराउने र परीक्षण भएका केहीको रिपोर्टिङ प्रणालीमा नआउने कारणले वास्तविक तथ्याङ्क बाहिर आएको छैन ।”

सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनको चरणमा लगेको महाशाखाले जनाएको छ । डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने डा. दाहालले औँल्याए । उनका अनुसार डेङ्गु नियन्त्रणका लागि सबै स्थानीय तहहरूसँग आवश्यक समन्वय र सहकार्य सुरु भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री