काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै करिब ६०७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । यसका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँच विभिन्न जलविद्युत् प्रवर्द्धक कम्पनीबीच मङ्गलबार ग्रीड जडानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रममा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर सागर श्रेष्ठ र पाँच प्रवर्द्धक कम्पनीका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौताले निजी क्षेत्रबाट निर्माण हुने ठूला तथा मझौला आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न मार्ग प्रशस्त गरेको छ ।
सो अवसरमा बोल्दै मन्त्री खड्काले यस्ता सम्झौताले नेपालको समृद्धिको मार्गमा देखिएका अवरोध हटाउँदै ऊर्जा विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘ऊर्जा क्षेत्रको सही प्रवद्र्धन र लगानी व्यवस्थापनको अभावले हाम्रो समृद्धिको यात्रामा बाधा पुगेको छ,’ उनले भने, ‘यस प्रकारका रणनीतिक सम्झौताले नै ऊर्जा क्षेत्रमा आवश्यक सुधार र विकासको ढोका खोल्नेछ ।’
कार्यक्रममा ऊर्जासचिव सुरेश आचार्य तथा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सरकारले अघि सारेको सन् २०३५ सम्मको ऊर्जा विकास लक्ष्यलाई साकार पार्न यो सम्झौता कोशेढुङ्गा साबित हुने बताए । उनीहरूले यसले लगानीकर्तालाई प्रोत्साहन गर्नुका साथै मुलुकको ऊर्जा सुरक्षामा समेत बल पुर्याउने धारणा राखे ।
कुन-कुन आयोजना जोडिनेछन् ?
सम्झौताअनुसार ग्रीडमा जोडिने आयोजनाहरूमा कालीकोटमा निर्माण हुने ४४० मेगावाटको तिला–१ देखि गोरखामा निर्माण हुने ९ मेगावाटको सुपर दरौदीसम्मका आयोजना रहेका छन् । सम्झौता भएका आयोजनाहरू यसप्रकार छन्:
-
प्रवर्द्धक: एससी पावर कम्पनी प्रालि
-
आयोजना: तिला–१ जलविद्युत् आयोजना (४४० मेगावाट)
-
स्थान: कालीकोट
-
-
प्रवर्द्धक: सुर्मा सरोबर हाइड्रोपावर प्रालि
-
आयोजना: महाकाली सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना (५४ मेगावाट)
-
स्थान: बझाङ
-
-
प्रवर्द्धक: माता मालिका इनर्जी मल्टिपल प्रालि
-
आयोजना: मालुमेला सेतीनदी पिकिङ हाइड्रोपावर आयोजना (७२ मेगावाट)
-
स्थान: बझाङ
-
-
प्रवर्द्धक: सूर्य होल्डिङ प्राइभेट लिमिटेड
-
आयोजना: अपर मेवा खोला ‘ए’ हाइड्रोपावर आयोजना (३१.९२ मेगावाट)
-
स्थान: ताप्लेजुङ
-
-
प्रवर्द्धक: हिमजल हाइड्रोपावर प्रालि
-
आयोजना: सुपर दरौदी हाइड्रोपावर प्रोजेक्ट (९.१४३ मेगावाट)
-
स्थान: गोरखा
-
यी पाँच आयोजनाको कुल जडित क्षमता ६०७.०६ मेगावाट रहेको छ, जसले मुलुकको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउनुका साथै वर्षायामको बिजुली निर्यातको सम्भावनालाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।




