काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६७ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ सम्पन्न गरेको छ । असार १७ गते केन्द्रीय कार्यालय परिसरमा आयोजित मुख्य समारोह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम सप्ताहव्यापी विविध रचनात्मक गतिविधिहरू सम्पन्न गर्दै समापन गरिएको हो ।
कार्यक्रमको शुभारम्भ निगमद्वारा आयोजित आकाश भैरव पूजा मार्फत भएको थियो, जसमा मन्त्री पाण्डे र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सहभागी भएर पूजा गरेका थिए । त्यसपश्चात मन्त्री पाण्डेले निगमद्वारा निर्माण गरिएको आधुनिक डाटा सेन्टरको उद्घाटन गरे ।
निगमका कर्मचारी, पदाधिकारी तथा सरोकारवालाहरूको सहभागितामा आयोजित प्रभातफेरी रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै केन्द्रीय कार्यालयमै आइपुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमलाई राष्ट्रको पर्यटन मेरुदण्डको रूपमा चित्रित गर्दै सरकार सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवस्थापन र कर्मचारीहरूलाई परिणाममुखी र दिगो रूपमा कार्य गर्न निर्देशन दिए ।
त्यसैगरी, कार्यकारी अध्यक्ष युवराज अधिकारीले सार्वजनिक खरिद विनियमावली निगमको प्रगतिमा मुख्य बाधक रहेको उल्लेख गर्दै सो संशोधनका लागि सरकारसँग पहल गर्न अनुरोध गरे । उनले कम्तीमा दुईवटा न्यारोबडी जहाज लिजमा लिएर अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नुपर्ने, गोन्जाओ र सिड्नी उडान सम्भव हुने र ग्राउण्ड ह्यान्डलिङ सेवा कम्तीमा १५ वर्ष निगममै रहने व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।
निगमले वार्षिकोत्सवको अवसरमा रक्तदान, टेबल टेनिस, कविता वाचन तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । उत्कृष्ट सहभागीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो ।
६८ औँ वर्षमा प्रवेश गरेको नेपाल वायुसेवा निगमले सबै सरोकारवाला, कर्मचारी तथा सेवा प्रयोगकर्ताप्रति आभार प्रकट गर्दै उत्कृष्ट सेवा र सुदृढ व्यवस्थापनको प्रतिबद्धता दोहोर्याएको छ ।




