काठमाडौं । भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना बिरामी परेका छन्। खजुरा–४ स्थित एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाई कार्यक्रममा सहभागी भएर कुखुराको मासु, पुलाउ र राजमा खाएका व्यक्तिहरूमध्ये मासु खानेहरू बिरामी परेको वडा अध्यक्ष टेकबहादुर रोकाक्षेत्रीले जानकारी दिए।
उनका अनुसार कुखुराको मासु खाएका १३ जना मध्ये एकै परिवारका सात जना छन्। उनीहरूमा झाडापखाला, उल्टी, ज्वरो, रिँगटा लाग्ने लगायतका लक्षण देखिएको छ। बिरामीमध्ये बालबालिकासमेत छन्। खजुरा–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीका अनुसार पुलाउ, तरकारी र अचार खाएका व्यक्तिहरूमा कुनै समस्या देखिएको छैन। कुखुराको मासु खानेहरू मात्रै बिरामी परेका हुन्।
भात खुवाई कार्यक्रममा सहभागी भएका ६ जना र सोही मासु घर लगेर खाएका थप ७ जना बिरामी परेका छन्। तीमध्ये केही उपचारपछि घर फर्किसकेका छन् भने बाँकीको बाँके सिटी अस्पताल, खजुरामा उपचार भइरहेको छ।




