काठमाडौँ । नेपाली खेलकुदका दुई भिन्न पुस्ताका नक्षत्र, फुटबलका जीवन्त धरोहर राजुकाजी शाक्य र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिष्ठित ‘SCSMF स्पोर्ट्स अवार्ड २०२५’ बाट सम्मानित हुनुभएको छ। शरद चन्द्र शाह मेमोरियल फाउण्डेसन (SCSMF) ले शुक्रबार काठमाडौँको कमलादीस्थित होटल रोयल सिंहिमा आयोजना गरेको एक भव्य समारोहबीच उहाँहरूलाई यो सम्मान प्रदान गरिएको हो।
नेपाली खेलकुदमा खेलाडी तथा प्रशिक्षकका रूपमा अतुलनीय योगदान पुर्याउनुभएका पूर्व कप्तान शाक्यलाई उहाँको समर्पण र सफलताको कदर गर्दै ‘लिभिङ लेजेन्ड’ का रूपमा सम्मान गरिएको हो। शाक्यकै नेतृत्वमा नेपालले सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो। उहाँलाई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत मानिन्छ।
त्यसैगरी, वर्तमान राष्ट्रिय महिला भलिबल टोलीलाई आफ्नो कुशल नेतृत्वमार्फत अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता दिलाउन सफल कप्तान अरुणा शाहीलाई उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। शाहीको नेतृत्वमा नेपाली महिला भलिबलले नयाँ उचाइ छोएको छ भने उहाँले हजारौँ युवा महिला खेलाडीलाई खेलकुदमा लाग्न प्रेरित गर्नुभएको छ। सम्मानित दुवै व्यक्तित्वलाई पुरस्कार स्वरूप जनही रु. २,५०,००० नगद र सम्मान-पत्र प्रदान गरिएको थियो।
को हुन् शरद चन्द्र शाह ?
फाउण्डेसन नेपाली खेलकुदका आधुनिक वास्तुकार मानिनुहुने स्वर्गीय शरद चन्द्र शाहको स्मृतिमा उहाँका परिवारजनद्वारा ३० नोभेम्बर, २०२० मा स्थापना गरिएको हो। स्वर्गीय शाह नेपाली खेलकुदमा युगान्तकारी परिवर्तन ल्याउने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।
उहाँ नेपालमा राष्ट्रिय खेलकुदको अवधारणा र ओलम्पिक अभियानको सूत्रपात गर्ने व्यक्ति हुनुहुन्थ्यो। वि.सं. २०३४ देखि २०४५ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहनुभएका शाह एसियाली ओलम्पिक परिषद् (OCA) को उपाध्यक्ष बन्ने पहिलो नेपाली समेत हुनुहुन्थ्यो। दक्षिण एसियाली खेलकुद (साग) को परिकल्पनाकारका रूपमा पनि उहाँलाई लिइन्छ।
फाउण्डेसनका उद्देश्य र गतिविधि
नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन, सहयोग र सम्मान गर्नु फाउण्डेसनको मुख्य उद्देश्य रहेको छ। यसअघि फाउण्डेसनले ‘नेपाल स्पोर्ट्स फर अल कमिसन’ सँगको सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ” शीर्षकमा फोटो प्रदर्शनी आयोजना गरेको थियो। साथै, फाउण्डेसनले गत वर्ष २०८० असार २६ गते नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृत्तान्त” नामक पुस्तकको विमोचनसमेत गरेको थियो।



