काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूका लागि पूर्ण डिजिटल र सुरक्षित बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । फोनपेसँगको सहकार्यमा सुरु गरिएको यो सेवामार्फत बैंकले ग्राहकहरूलाई भौतिक कार्ड बोक्नुपर्ने झन्झटबाट मुक्ति दिँदै डिजिटल भुक्तानीलाई थप सहज र सुलभ बनाएको छ ।
यो सुविधा प्रयोग गर्नका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ प्रयोग गर्न सक्नेछन् । एपभित्र रहेको ‘महालक्ष्मी फोनपे क्रेडिट कार्ड’ को विकल्पमा गएर ग्राहकले केही सरल प्रक्रिया पूरा गरी तत्काल भर्चुअल क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यस कार्डमार्फत फोनपे नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी भुक्तानी गर्न र अनलाइन माध्यमबाट गरिने खरिदको बिल तिर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार भर्चुअल क्रेडिट कार्डमा भौतिक कार्डमा उपलब्ध सबै सुविधाहरू यथावत् रहनेछन् । यसमा ४५ दिनसम्मको ब्याज नलाग्ने अवधि (Interest-Free Period) र खरिद रकमलाई किस्ताबन्दीमा तिर्न मिल्ने लचिलो सुविधा (EMI) समेत समावेश गरिएको छ । यो सेवाले नगद वा भौतिक कार्ड बोकेर हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोबाइलबाटै सबै कार्य गर्न सकिने हुँदा ग्राहकका लागि समयको बचत र कारोबारमा सहजता ल्याउने विश्वास बैंकको छ ।
सेवाको शुभारम्भसँगै बैंकले ग्राहकलाई थप प्रोत्साहित गर्न विशेष ‘क्यासब्याक अफर’ समेत सार्वजनिक गरेको छ । भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले पहिलो कारोबारमा रु. ५०० सम्मको नगद फिर्ता (क्यासब्याक) पाउनेछन्, जसले गर्दा यो सेवा अझ आकर्षक बनेको छ ।
यो सेवा सुरु गरेसँगै महालक्ष्मी विकास बैंक नेपालमा भर्चुअल क्रेडिट कार्ड जारी गर्ने पहिलो विकास बैंक बनेको छ । डिजिटल नवप्रवर्तनमा सधैँ अग्रसर रहँदै आएको बैंकले यो कदमले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप ग्राहक-मैत्री र प्रविधि-केन्द्रित बनाएको दाबी गरेको छ । बैंकले भविष्यमा पनि आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत र परिमार्जित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।




